बैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै लंकु मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
आफूले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै मतदान गरेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।
नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको भन्दै उहाले अपेक्षा गरिएको भन्दा बढी मतदान हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री पत्नी सीता दाहालले भने उहाँको मतदाता नामावली शान्तिनगर मतदान केन्द्रमा भएकाले शान्तिनगरबाट मतदान गर्नु भएका छ । । प्रचण्डका छोरीहरु रेणु दाहाल र गंगा दाहालले पनि लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवार समेत रहनु भएको छ ।
प्रधानमन्त्री दाहालले मतदान गरिसकेपछि बिहानै काठमाडौं र्फकने कार्यक्रम रहेको छ । चितवन जिल्लामा कुल मतदाता तीन लाख १३ हजार २ रहेका छन् भने दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ ।








