उम्मेदवारी दर्ता आज, चुनावी माहोल तात्दै

काठमाडौं, १९ वैशाख – वैशाख ३१ को स्थानीय तहको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुदैंछ । मधेशी मोर्चाको संविधान संशोधनको माग र विवादका कारण चुनाव नहुने हो कि भन्ने आशंका तत्काललाई टरेको छ । स्थानीय तहको चुनावमा दलहरुको उत्साहले निर्वाचन राष्ट्रिय उत्सवको रुप लिन थालेको देखिन्छ ।

प्रधानान्यायाधिश सुशिला कार्कीमाथि संसदमा दर्ता गरिएको महाभियोगका कारण चुनाव सर्ने आंकलन थियो । यसैबीच प्रधानमन्त्री प्रचण्डले कुनैपनि हालतमा स्थानीय तहको निर्वाचन हुने बताएर सबैलाई सहभागी हुन आग्रह गरेका छन् । मधेसी मोर्चाले समेत यसमा सहयोग गर्ने प्रधानमन्त्रीले बताएका छन् । यसैबीच राजपा नेपाल पहिलो चरणको चुनावमा भाग नलिने र संघीय समाजवादी फोरमले भाग लिने भएका छन् । यी दलले संविधान संशोधनको मागको सुनुवाइ नभए पनि चुनाव नगर्ने जिम्मेवारपूर्ण निर्णय लिएका छन् । संविधान संशोधन संसदमा टेबल भएपनि एमालेका कारण कारण पारित हुने अवस्था बनिसकेको छैन् । वैशाख २१ मा बस्ने संसद बैठकमा समेत यो विषयले प्रवेश पाउन निकै कठिन अवस्था रहेको छ ।

 
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच चुनावी तालमेल समेत भएको छ । फोरमको चुनाव चिन्हमा नयाँ शक्तिले चुनाव लड्ने भएसँगै यी पार्टीबीच एकताको पृष्ठभूमि तयार बनेको छ । आफ्नो चुनाव चिन्ह छाता नपाएकाले राजपा नेपालले पहिलो चरणको चुनावमा भाग नलिने जनाएको छ । तर उसले स्वतन्त्र उम्मेदवारी दिन सक्ने र चुनावलाई असर गर्ने कार्यक्रम नगर्ने जनाएको छ ।

 
यी मधेस केन्द्रित दलले देखाएको जिम्मेवारीका कारण चुनावी माहौल तातेको हो । महाअभियोग प्रकरण पछि सत्ता साझेदार राप्रपा सरकारबाट बाहिरिए पनि चुनावलाई प्रभाव नपार्ने सो पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले समयमै स्थानीय तहको चुनाव गर्नुपर्ने माग राख्दै आएको छ । देशमा विकसित घटनाक्रमले चुनाव नहुने संशय जन्माएपनि मंगलबारदेखि देश स्थानीय निर्वाचनतर्फ अगाडि बढेको छ ।

 
यसैबीच ३४ जिल्लामा स्थानीय तहको चुनावका लागि उम्मेदवार मनोनयन हुदैंछ । पहिलो चरणको चुनावका लागि मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । उम्मेदवारको अन्तिम नामावलीसहित दलहरु धमाधम दर्ताका लागि तयारी अवस्थामा रहेका छन् । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का जिल्लामा हुदैंछ । प्रदेश नम्बर ३ मा रहेका काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, मकवानपुर र चितवन गरी १३ जिल्लामा पहिलो चरणमा चुनाव हुदैंछ ।

 
त्यस्तै ११ जिल्ला रहेको प्रदेश नम्बर ४ का कास्की, लमजुङ, गोरखा, मनाङ, स्याङजा, तनहुँ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासीको केही भागमा पनि पहिलो चरणमा निर्वाचन हुदैंछ ।

 

त्यसैगरी ११ जिल्ला रहेको ६ नम्बर प्रदेशका सुर्खेत, दैलेख, हुम्ला, जाजरकोट, कालीकोट, डोल्पा, जुम्ला, मुगु, सल्यान र रुकुमको केही भागमा चुनाव हुदैंछ ।

 
पहिलो चरणको निर्वाचनको कार्यतालिका यस्तो छः
० उम्मेदवार मनोनयन दर्ता – वैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म) ।
० उम्मेदवारको सूची प्रकाशन – वैशाख १९ गते (बेलुका ५ः३० बजे) ।
० उम्मेदवारको विरोधमा उजुरी – वैशाख २० गते (बिहान १० बजेदेखि १ बजेसम्म) ।
० मनोनयनपत्र जाँच – वैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म) ।
० उम्मेदवारको नामावली प्रकाशन – वैशाख २१ गते (११ः३० देखि १ बजेसम्म) ।
० उम्मेदवारले नाम फिर्ता लिने – वैशाख २१ गते ( दिउँसो १ बजेदेखि ५ बजेसम्म)

० उम्मेदवारको अन्तिम नामावली प्रकाशन – वैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म)
० उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान – वैशाख २२ गते (बिहान ११ देखि ५ बजेसम्म)
० मतदान गर्ने – वैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म) ।

सम्बन्धित शिर्षकहरु