काठमाडौँ, २१ मङ्सिर । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले जनताको भावनाविपरीत संविधान संशोधन प्रस्ताव ल्याएको बताएका छन् ।
संवाद क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव विष्टले पाँच नम्बर प्रदेशमा मिलेर बसेका पहाड र तराईका जनताको मिलेर बस्ने चाहनालाई तोडेर संशोधन प्रस्ताव ल्याउनु रहस्यमय विषय भएको बताए ।
उनले भने, “संवैधानिक दायरा मिचेर ल्याएको संविधान संशोधनको प्रस्तावले देशमा संवैधानिक तथा राजनीतिक अराजकता पैदा गरेको छ ।” उनले संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरित संसद्लाई सीमा हेरफेरको अधिकार नदिएको दाबी गरे ।
सचिव विष्टले नेपालको संविधान जनपक्षीय, लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी भएको दाबी गर्दै देशको अहित हुने गरी ल्याइएको संशोधन प्रस्ताव अविलम्ब फिर्ता लिएर चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गरे ।








