फेसबुके प्रेम देखि प्रहरी खोर सम्म

साउन १५, पोखरा- सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ । विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् ।Chat

जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले साउन ८ गते दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले बताउनु भयो ।

उहाका अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्त्याल र विवाहित ती महिलासँग फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुक, स्काइप, भाइबर र फोन हुँदै गहिरिएको पिरतीलाई छन्त्याल नेपाल फर्कने बित्तिकै दुवैजना काठमाडौँमा भेट भएर विवाहमा परिणत गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै बहुविवाह गर्ने महिलाका बारेमा थप विवरण सार्वजनिक गर्न मानेन् ।
सुनौलो भविष्यको सपना बुन्दै दुखजिलो गरेर घरव्यवहार धान्दै आएकी छन्त्यालकी श्रीमतीले परदेशी श्रीमानले बाटैबाट अर्की ल्याएको थाहा पाएपछि प्रहरीलाई उजुरी गरेकी थिइन् ।

“यो त सामाजिक सञ्जालको दुरुपयोग गर्दा भएको एउटा उदाहरण मात्र हो, यस्ता घटना दिनानुदिन बढ्दै गएका छन्”–प्रहरी निरीक्षक उपाध्यायले भन्नुभयो –“सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत सम्बन्धमा संवेदनशील नबन्दा धेरैका परिवार विखण्डनको अवस्थामा पुगेको छ ।” रासस

सम्बन्धित शिर्षकहरु