असनेपाल न्युज सम्बाददाता/
साउन १२, काठमाडौँ- महोत्तरीमा एक नवाबिबाहिताको दाइजोमा मोटरसाइकल र दराज नल्याएको भन्दै हत्या गरिएको आफन्तले आरोप लगाएका छन् ।
रतौली गाबिस ६ मा मिन्टुदेवी मण्डललाई मोटरसाइकल र गोदरेज (दराज) नल्याएको भन्दै उनका पति रञ्जित मण्डलसहित पाँच जनाले मिलेर हत्या गरेको मृतकका काका रामदेव मण्डलले आरोप लगाउनु भएको छ। रामदेवले पत्रकार सम्मेलन गर्दै आफ्नी भतिजी मिन्टुलाई पति रञ्जित मण्डल, ससुरा जिवछ मण्डल, नाम नखुलेको सासू, नन्द र नन्दको पति बनौली दनौली गाविस–१ बस्ने सन्तोष मण्डलसहित मिलेर हत्या गरेको ठोकुवा गर्नुभएको छ।
उहाले २०७० साल फागुन २३ गतेका दिन आफ्नी भतिजी मिन्टुको विवाह सामाजिक परम्पराअनुसार रञ्जित मण्डलसँग गरेको र बिहेको केही दिन नबित्दै ज्वाइँ रञ्जितले भतिजी मिन्टुलाई माइत पठाई मोटरसाइकल र गोदरेज मागेर नल्याए ज्यान मार्ने धम्कि दिएको पत्रकारहरुलाई बताउनु भयो ।
शुक्रबार बिहान रतौली–६ मा मिन्टुको शव घरको १०० मिटर पश्चिममा रहेको एक आँपको रुखमा झुन्डिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो भने उनको घरमा अन्नपानी, लत्ता कपडा र घरका अन्य सामान छरिएको अवस्थामा फेला पारेका थिए।
प्रहरीले यस घटनालाई रहस्यमय भन्दै घटनाबारे अनुसन्धान भैरहेको जानकारी दियको छ ।








