साउन ६ । काठमाडौँ,प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुहुने भएको छ ।
संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार गर्नुभएका प्रधानमन्त्री कोइराला आज अमेरिकाबाट नेपालका लागि प्रस्थान गर्नुभएको र भोलि बेलुका ८ बजे स्वदेश आइपुग्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कन लाग्नुभएको हो ।
प्रधानमन्त्रीलाई लामो समयदेखि ‘ब्रोङ्काइटिस्’ भएका कारण चिकित्सकको सल्लाहअनुसार फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो ।
प्रधानमन्त्री कोइराला गत असार २ गते थप उपचारका लागि अमेरिका प्रस्थान गर्नुभएको थियो ।








