निर्वाचन क्षेत्र विकास र सामाजिक सुरक्षाका लागि रकम वृद्धि गर्न एमालेको माग

काठमाडौँ, सत्ता पक्षीय नेकपा एमालेले सरकारले ल्याएको बजेटलाई संशोधन गरी ‘आफ्नो गाउँ आफैँ बनाऔँ’सामाजिक सुरक्षा भत्ताजस्ता कार्यक्रममा रकम वृद्धि गर्नु पर्ने माग राखेको छ ।

एमाले संसदीय दलको आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र विकास र सामाजिक सुरक्षाका लागि रकम वृद्धि गर्नु पर्ने माग राखेको हो ।
एमालेले २०५१ सालमा आफूले सरकार चलाएका बेला लोकप्रिय बनेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’,सामाजिक सुरक्षा भत्ताजस्ता कार्यक्रममा अहिलेको सरकारले पनि रकम वृद्धिसहित निरन्तरता दिन जोड दिएको छ ।

एमालेको नवौं महाधिवेशनबाट संसदीय दलका नेता अध्यक्ष केपी ओली निर्वाचित भएपछि पहिलोपटक शनिबार र आइतबार चलेको दलको बैठकमा सभासद्हरुले प्रत्येक निर्वाचन क्षेत्रमा रु पाँच करोड रकम विनियोजन हुनुपर्ने माग उठाएपछि मागका बारेमा सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

गत असार २९ गते अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्रतिनिर्वाचन क्षेत्र एक करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । हालको २४० वटा निर्वाचन क्षेत्रमा पाँच करोडका दरले विनियोजन गर्दा यसका लागि कुल १२ अर्ब रुपैयाँ लाग्ने देखिन्छ ।
काँग्रेसकै सभासद्ले पनि पाँच करोड विनियोजन हुनुपर्ने माग गरिरहेका छन् ।

एमाले सभासद् राजेन्द्र पाण्डेले बैठकले निर्वाचन क्षेत्र विकास कोषको रकम पाँच करोड रुपैयाँकै दरले विनियोजन हुनुपर्ने, वृद्ध भत्ता रु ५०० बाट बढाएर एक हजार बनाउनुपर्ने, प्रत्येक गाविसमा रु ५० लाख रुपैयाँ आफ्नो गाउँ आफँै बनाऔँका लागि छुट्याइनुपर्ने माग काँग्रेससँग राख्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारमा सामेल भएको दलको सुझाव र योजनालाई कार्यान्वयन गर्न नमानेमा सरकारको आगामी यात्रा कठिन (असहज) हुने प्रतिक्रिया दिनुभयो ।
पाण्डेले भन्नुभयो,”सरकारले निर्वाचन क्षेत्र विकासका लागि उल्लेख गरेको बजेटको भाषा जालझेलयुक्त छ । यदि हाम्रा कुराको सुनुवाइ भएन भने सरकारलाई अप्ठ्यारो पर्न सक्छ ।”

सभासद् भानुभक्त ढकालले सभासद्ले रु. पाँच करोड खान खोजेका हुन् भनेर प्रचार गर्नु फट्याइँपूर्ण भाषा भएको भन्दै यसलाई विगतको सांसद् विकास कोषका रुपमा पनि नलिन आग्रह गर्नुभयो ।

सभासद् शान्ता मानवीले आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने नारालाई सार्थक हुने गरी समयानुकूल रकम वृद्धि गर्न आफूहरुले माग गरेको बताउनुभयो ।
बैठकको समापन गर्दै दलका नेता ओलीले सभासद्का सुझावका आधार बजेटमा संशोधनका माग गर्न उहाँहरुलाई नै प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सभासद् पाण्डेले दलमा उपनेता, प्रमुख सचेतक र सचेतको कार्यविभाजनका सम्बन्धमा आगामी बैठकमा छलफल हुने बताउनुभयो ।

 

सम्बन्धित शिर्षकहरु