काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको पहिलो साता चीनको औपचारिक भ्रमणको तयारी थालेका छन् । भारत भ्रमणको एकमहिना पुरा हुनासाथ प्रधानमन्त्री ओली चीन जान लागेका हुन् ।
उनी चैतको ७ गते नै चीन जाने तयारी गरिएपनि औपचारिक निर्णय नभएको उनका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले जानकारी दिए ।
“प्रधानमन्त्री चीन भ्रमणमा जाने कुरा भएको छ”, खनालले भने, “भ्रमणको मिति भने टुंगो लागिसेको छैन ।”
भ्रमणमा नेपाल र चीनबीच महत्वपूर्ण व्यापार सम्झौता हुने खनालको भनाई छ । “नेपाल र चीनबीचको व्यापार विविधिकरणका विषयमा महत्वपूर्ण सम्भौता हुनेछ”, उनले भने, ‘नेपाल र चीनको पारस्परिक हितका विषयमै भ्रमण केन्द्रित रहनेछ ।
त्यस्तै उनले भ्रमणमा चीनसँग इन्धन सम्झौता पनि हुनेछ । सम्झौतापछि चीनबाट नेपालले २० प्रतिशत इन्धन आयात गर्नेछ । यस्तै चीनसँग अन्य पारवहन सम्झौताका विषयमा पनि कुराकानी भइरहेको खनालले जानकारी दिए । प्रधानमन्त्रीको चीन भ्रमण नेपाल–चीन द्विपक्षीय हितका क्षेत्रमा ऐतिहासिक हुने खनालले दाबी गरे ।








