पुस २६ । काठमाडौं, एक घन्टा लाइनमा उभिएपछि न्यानो राहत बुझ्ने पालो आयो, ६९ वर्षीय फुर्पा लामाको। उनको बुढ्यौलीले चाउरिएको अनुहारमा एकाएक खुसी छचल्कियो। भूकम्पपीडित परिचयपत्र देखाउँदै उनले एउटा कागजमा दुवै हातका बूढीऔँलाले ल्याप्चे धसिदिए। गाविस सचिव लेखनाथ चौलागाईले खनखनी गनेर उनका हातमा नगद थमाइदिँदै भने, ‘ठ्याक्कै १० हजार रुपैयाँ छ, बाक्ला लुगा किनेर लगाउनुस् है बा?’
सचिवले सरकारी अनुदानको सदुपयोग गर्न सम्झाए पनि फुर्पा केही बोलेनन्।
बरु पैसा दोहोर्यादएर गने र ज्याकेटको भित्री गोजीमा राखे। बल्ल उनका ओठ खुले, ‘हेर्नुस् है सचिवज्यू, केमा खर्च गर्ने हाम्रै मर्जी चल्छ।’
सचिवकै सामुन्ने अभाव र समस्याका चाङ लगाउन भ्याइहाले उनले। ‘बस्ने घर छैन, खाने सामल छैन। केको लुगा किन्नु नि!’ हातको लौरोमा बुढ्यौली शरीर टेकाउँदै उनी कड्किए।
दुई छोराका सन्तानसहित ठूलो परिवारका मूली दुरागाउँ–९ फेदीका फुर्पालाई एकैपटक आइलागेको मानो, छानो र न्यानो अभावले औधी सताएको छ।
नहँुदा छैन भन्ने हुन्थ्यो, चिन्ता कम थियो। हुँदा कुनचाहिँ समस्या पहिला टार्ने भन्ने पिरालो। नगद पाएपछि फुर्पालाई चिन्तामाथि पिर थपिइहाल्यो। यो किने त्यो छैन, एकथोक किने अर्कोथोक, थपिँदो द्विविधाले उनलाई अनिर्णयको बन्दी बनाएको छ।
‘महँगीले बजार छाइनसक्नु छ। १० हजारले यति ठूलो परिवारलाई लुगाको टालो पनि आउँदैन,’ उनी सुनाउँछन्, ‘चामल किने तेल छैन, मरमसला किने रासन छैन।’ भूकम्पपछि उनको परिवार शीत चुहिने र स्याँठ छिर्ने जस्ताको अस्थायी टहरोमा बस्दै आएको छ। बाक्ला सिरकडस्ना र लुगाफाटा नहुँदा लुगलुग काँपेर रात बिताउने उनको परिवार यो वर्षको मिनपचास जसरी पनि पुरानैबाट काट्ने मनस्थितिमा छ।
जाडोयाम सकिनै लागेकाले न्यानोको रकम यसपालि लुगाफाटामा खर्च नगर्ने घरसल्लाह भएको छ। ‘यो जाडोमा पेटमा एकमुठी तातो चारो परे त्यसै न्यानो भइहाल्छ नि!’ उनले नजिकको सिरेसे वा ढाडेबजार पुगेर चामल किन्ने योजना बनाएका रहेछन् राहत रकमले।
दुरागाउँ–२ केराबोटे टोलकी ३० वर्षीया कृष्णमाया सुनुवार पनि लामो समय पालोमा बसेर नगद थाप्दा कम्ती खुुसी देखिएकी होइनन्। उनको यो खुसीमा द्विविधा थपिन बेर लागेन। ‘सचिवले न्यानो लुगा किन्नु भने,’ उनले समस्या सुनाइन्, ‘त्यो भन्दा ठूलो खाँचो अर्थोकै छ।’
बर्सेनीका पाँच सन्तान र सासूससुरासहित नौ सदस्यीय परिवारकी उनी अस्थायी टहरो थप व्यवस्थित बनाउने निर्णय गरेर रकम बुझ्न आएकी थिइन्। टहरोमा चुहिने शीत र भुइँबाट उम्रने ठन्डीमा वृद्धवृद्धा सासूससुरा र केटाकेटी जोगाउन उनलाई हम्मे छ।
‘टहरोबाट चिसो लखेट्न पाए परिवारैलाई न्यानो हुन्थ्यो,’ उनले भनिन्।
झन्डै महिनादिन कुराइपछि नगद बुझेकी दुरागाउँ–९ की धनमाया खड्का पनि न्यानो लुगा किन्ने सोचमा थिइनन्। टहरोको बसाइले सुन्निएको शरीर तंग्र्याउने विचार छ उनको यो पैसालो। ‘सुन्निएर मर्न लागेँ,’ उनले भनिन्, ‘मासु किनेर खान्छु। दसैंयता मासु खान पाएको छैन।’
मासु किनेपछि बाँकीले चामले किन्दा रकम उब्रिए घ्यु खाने उनले सुनाइन्। ‘खानैले मर्न लागियो। पहिले खाने हो। बाँचिए पो लुगा!’ उनले नढाँटी भनिन्।
उत्तरपूर्वी रामेछापकै सबैभन्दा दुर्गम गाविस दुरागाउँवासीले न्यानो राहतमा १० हजार रुपैयाँ नगद पाए पनि पनि त्यसले उनीहरुमा उमंग ल्याउन सकेको छैन। सरकारले उहिल्यै घोषणा गरेको राहत हात पर्दा छचल्किएको थोरै खुसीमा अभावले निम्त्याएको द्विविधा मडारियो। सरकारले न्यानो किन्न नगद दिए पनि त्यो उनीहरुको प्राथमिकतामा देखिएन। मानो, छानो र न्यानोकोे अभाव झेलिरहेका उनीहरुलाई रकम केमा खर्च गर्ने भन्ने द्विविधाले अनिर्णयको बन्दीझँै बनाएको छ। खाँचो धेरैको छ। यति रकमले एकैपटक त्यस्ता खाँचो पूरा नगर्ने भएकाले स्थानीय पिरोलिएका छन्।
भूकम्पबाट जिल्लामै सर्वाधिक क्षति बेहोरेका दुरागाउँका धेरै पीडित न्यानो राहत रकमबाट खाद्यान्न जोहो गर्ने बताउँछन्। केही टहरो व्यवस्थित बनाउन खर्च गर्न चाहन्छन्। नयाँ घर बनाउन नगद खर्च नगरी जोगाउने योजना बुन्ने पनि कम छैनन्। घर बनाउन सरकारले दिने घोषणा गरेको २ लाख रुपैयाँ ऋणमा थपथाप हुने उनीहरुको तर्क छ। बाक्ला लुगाफाटा, सिरकडस्ना खरिदमा खर्च गर्न चाहने निकै कम छन्।
‘टहरामा त बसेका छौं नि, खाने गेडो छैन,’ नगद बुझेपछि राम्चेगाउँका ५१ वर्षीय नोर्बु तामाङले भने, ‘खेतबारीमा पहिरो लाग्यो। खेतीपाती मेलो बन्द भइहाल्यो।’
भूकम्पले निम्त्याएको पहिरोले भएको थोरै खेतबारी पनि पुरेपछि उनको टहरोमा यसपालि अन्नको गेडो भित्रिएन। खेती लगाउने अवस्था नभएपछि सात सदस्यीय परिवारलाई के खाने भन्ने चिन्ताले पिरोलेको छ। ‘बर्खा सुरु हुन लाग्यो। पानी परेपछि गाडी चल्दैन,’ उनी भन्छन्, ‘लुगा होइन, चामल किनेर बर्खालाई खाद्यान्न जोहो गर्छु।’
अहिलेसम्म सडक ट्र्याकले नछोएको दुरागाउँ जिल्लामा एक मात्र गाविस हो। छिमेकी गाविस सैपुसम्म सडक खुलेको छ। कच्ची सडकमा हिउँदमा मात्र गाडी चल्छ। खर्च गर्ने सामर्थ्य भए यतिबेला सिरेरे र ढाँडेबजारमा जति पनि खाद्यान्न किन्न पाइन्छ। बर्खामा गाडी चल्न छाडेपछि किनमेलका लागि आवत–जावतमा दुई दिन छुट्ट्याउनुपर्छ। भारी बोकर चुइँचुइँती पैदल हिँड्नुपर्दा कम्ती सास्ती हुँदैन।
गाविस सचिव चौलागाईंका अनुसार पिछडिएका सुनुवार, तामाङ समुदायको बाहुल्य रहेको दुरागाउँमा उब्जनीले ६ महिनाभन्दा बढी खान पुग्दैन। उसै पनि बिहान–बेलुकाको छाक टार्न ज्याला, मजदुरी गर्नुपर्ने बाध्यताका गाउँवासीलाई भूकम्पले खाद्यान्नमा झन् परनिर्भर बनाएको छ। धाँजा, चिरा र पहिरोले खेतीपाती बालीनाली चौपट छ। त्यसैले सचिव चौलागाईं पनि न्यानो राहत रकम अधिकांश खाद्यान्नमै खर्च हुने अनुमान गर्छन्।
दुरागाउँ–५ र ६ का गाउँलेका लागि त न्यानो राहत आहातभन्दा फरक पर्दैन। उनीहरुलाई छानो, मानो र न्यानोभन्दा पहिलो चाहना बाँच्नु हो। गाउँका गाउँ सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्थाका उनीसँग टहरोसम्म हाल्ने जमिन बाँकी छैन। भूकम्पपछि धाँजा र चिरासँगै यहाँका सबै गाउँ धस्सिएर साब्रोखोलातिर झरिरहेको छ। सबै जमिन १० देखि ५० मिटर तल झरिसकेको छ। कतै ठूला पहिरा छन् त कतै खाडलै खाडल। चिरा र धाँजा त कति हो कति! १ सय ५७ परिवार बसोबास गर्ने दुवै वडाका सबै गाउँबस्ती तलतिर धसिँदै छन्।
साप्रा, सद्गाउँ, थापाडाँडा, तम, चिउरीडाँडा, कात्तिके, पुन्दी र ओखरेनी गाउँ क्रमशः धस्सिरहेको छ। बाँच्ने उपाय खोजीमा रहेका गाउँलेसँग न्यानो राहत कहाँ खर्च गर्ने भन्ने कुनै योजना छैन। ‘१० हजारले घडेरी आउने होइन क्यारे!’ स्थानीय हरिमाया सुनुवार भन्छिन्, ‘खुला आकाशमुनि खोले खाएर बाँचौंला। बस्ने ठाउँको व्यवस्था मिलाइदिए हुन्थ्यो।’
उनका अनुसार बर्खामा गाउँ छाड्नुपर्ने भएकाले लुगाफाटा, खाद्यान्न किन्नुको अर्थ छैन।
जाडोयाम सकिनै लाग्दा ढिलो गरी रकम बाँडिएकाले न्यानो राहत अर्थोकैमा खर्च हुने देखिन्छ धेरैजसो पीडितको। सर्वोच्च अदालतले साताभित्र राहत बाँड्न अन्तरिम आदेश दिएपछि मात्र दुरागाउँ न्यानो राहत पुगेको हो। चौलागाईंले पछिल्ला दुई दिन गाउँमै बसेर सबै ७ सय ७२ परिवारलाई रकम वितरण गरेका थिए।नागरिक दैनिक ।








