मंसिर २८ । काठमाडौं, मधेस आन्दोलनका नेता उपेन्द्र यादव शनिबार साँझ भारतीय राजदूत रन्जित रेसमक्ष निक्कै भावुक रुपमा प्रस्तुत भए र कुरा नसकिंदै दूतावासबाट निस्किए । परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको चारबुँदे सहमति र भावी रणनीतिबारे विश्लेषण गर्न राजदूत रेले शनिबार साँझ मधेसी दलका नेताहरुलाई कक्टेलसहितको रात्रीभोजमा बोलाएका थिए ।
रात्रीभोजमा सामेल उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, रामनरेश राय लगायतका केही नेताहरुको अनुहार भने उज्यालो थिएन । युद्ध हारेको जस्तो अनुहार लिएर भारतीय दूतावास पुगेका मधेसी दलका नेताहरु उस्तै अनुहारमा फर्किएका छन् ।
स्रोतका अनुसार ब्रिफिङका क्रममा राजदूत रेले उपेन्द्र यादवको नाम पटकपटक लिंदै चारपाँचवटा विषयमा डिग्री हासिल गरेको विद्धान नेता भन्दै फुक्र्याउने कोशिश गरेको एक नेताले सुनाए । चार बुँदे सहमतिबाट प्राप्त उपलब्धीलाई टेकेर अघि बढ्न राजदूतले आग्रह गरिरहेकै बेला उपेन्द्र यादवले सोधे, ‘के के उपलब्धी भयो रु चार महिना लामो पीडादायी आन्दोलनबाट हामीले यो उपलब्धी हासिल गर्यौं भनेर जनतामा जान सकिने बुँदाहरु के के छन् रु’ तर, राजदूत रेले उपलब्धी विस्तारै देखिंदै जाने भन्दै कुरा अन्तै मोडे ।
मधेसी नेताहरुले उधारो सम्झौताले तराईमा जान नसक्ने र आन्दोलन स्थगित गरी गए जनताले लखेट्ने बताएका थिए । तर, राजदूत रेले तत्कालै सुरक्षित अवतरण गर्न नसकिए चिनियाँ संलग्नता बढ्ने खतरलाई पनि नबिर्सन आग्रह गरेको समाचार तरुण साप्ताहिकले छापेको छ ।








