कात्तिक २९ । काठमाडौं, तिहार (२४ देखि २७ कात्तिक) मा भारतसँग जोडिएका सीमानाका तुलनात्मक रूपमा खुकुलो भएका छन् । तिहारको बिदायता दैनिक औसतमा दुई सय ५० को संख्यामा मालबाहक ट्रक–कन्टेनर नेपाल भित्रिएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले जानकारी दिए, नयाँ पत्रिका दैनिक लेख्छ ।
‘तिहारको बिदामा भारतसँगको सीमानाका तुलनात्मक रूपमा केही खुकुलो भएको महसुस गरिएको छ,’ उनले भने । नेपालमा सबैभन्दा धेरै सामान आयात हुने वीरगन्ज नाका भने सुचारु हुन सकेको छैन । तिहारअघिको साता दिन(१७ देखि २४ कात्तिक) सम्म भने भारतीय नाका ठप्प थियो । तर, तिहारको समयमा भने धनगढी, भैरहवा, विराटनगर, नेपालगन्ज र काँकडभिट्टा नाका खुकुलो भएर सामान आयात भएको भन्सारले जनाएको छ ।
शुक्रबार पाँच सय ११ ट्रक–कन्टेनर आए
शुक्रबार मात्रै तराईका विभिन्न नाकाबाट पाँच सय ११ ट्रक–कन्टनेर नेपाल प्रवेश गरेका छन् । तरकारी, फलफूल, लत्ताकपडा र केही इन्धनका ट्यांकर र बुलेट आएको भन्सार विभागले जनाएको छ । धनगढी र काँकडभिट्टा लगभग पूर्ण रूपले सुचारु भएको विभागले जनाएको छ । काँकडभिट्टाबाट दैनिक औसतमा एक सय ५० ट्रक–कन्टेनर आउने गरेकोमा तिहारको समयमा औसत एक सय ट्रक–कन्टनेर आइरहेको भन्सार विभागका महानिर्देशक ढुंगानाले बताए । औसतमा दुई सय ५० ट्रक–कन्टेनर भित्रिन थालेको उनको भनाइ छ । तिहारअघिको एक सातासम्म सामान आयात ठप्प थियो । त्यसअघि पनि मुस्किलले एक सय ५० ट्रक–कन्टेनर मात्रै भित्रिने गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
एक सय ५० बढी इन्धनका ट्यांकर आए
तिहारमा एक सय ५० भन्दा बढी तेल बोकेका ट्यांकर आएको भन्सार विभागका महानिर्देशक ढुंगाना बताउँछन् । ‘तिहारको समयमा एक सय ५० भन्दा बढी इन्धन ट्यांकर आइसकेका छन्,’ उनले भने । त्यसमा धेरै डिजेल बोकेका ट्यांकर छन् । नेपाल भित्रिएकामध्ये ३५ ट्यांकर डिजेल (चार लाख लिटर) काठमाडौंका लागि पठाउने खबर पाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए । ‘पेट्रोल पनि एक लाख लिटरजति काठमाडौं आउने खबर पाएको छु,’ उनले भने । चीनले अनुदानमा उपलब्ध गराएको १३ लाख लिटर पेट्रोलमध्ये करिब १० लाख लिटर निगमले बुझिसकेको छ ।
ग्यासका १४ बुलेट आए
विराटनगर, सुनौली र धनगढी नाकाबाट १४ वटा ग्यास बोकेका बुलेट आएका छन् । ‘विराटनगरबाट ६, भैरहवाबाट सात र धनगढी नाकाबाट एउटा ग्यासका बुलेट आएका छन्,’ ढुंगानाले भने । तिहारमा भित्रिएका ग्यासका बुलेट तराई क्षेत्रका उद्योगका हुन् । ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले तिहारमा नेपाल भित्रिएका ग्यास बुलेटमध्ये केही काठमाडौं ल्याउने प्रयास भइरहेका जानकारी दिए । ‘तिहारको समयमा नेपाल प्रवेश गरेका १४ बुलेटमध्ये दुई–चारवटा काठमाडौंसम्म ल्याउने योजनामा छौँ,’ उनले भने, ‘सकेसम्म भोलि ९आइतबार० रातिसम्म ल्याइसक्ने तयारी छ ।’
भारतले छानीछानी पठाउन छाड्यो
भारतीय सीमा क्षेत्रमा लाइनमा बसेका ट्रक–कन्टनेर पालैपालो आउन थालेका छन् । यसअघि लाइनमा रहेका ट्रक–कन्टनेरलाई भारतीय पक्षले छानीछानी पठाउने गरेको थियो । खासगरी तरकारी, फलफूललगायत चाँडै बिग्रने सामान बोकेका ट्रक–कन्टनेरलाई पठाएर इन्धन बोकेका ट्यांकर–बुलेटलाई भारतीय पक्षले रोक्ने गरेको थियो । तिहारको समयमा भने लाइनमा रहेका ट्रक–कन्टनेरलाई पालैपालो पठाउन थालेको हो । ‘लाइनमा बसेका ट्रक–कन्टनेर पालैपालो आउन थालेका छन्, भारतीय पक्षबाट छानीछानी पठाइएको छैन,’ उनले भने ।
मालबाहक सवारी भित्रिने क्रम जारी
विराटनगर–जोगबनी नाकाबाट उल्लेख्य संख्यामा मालबाहक सवारी र इन्धन भित्रिएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार शुक्रबार ८२ वटा इन्धनसहित दुई सय ८१ वटा मालबाहक सवारी नेपाल भित्रिएका छन् । यसैगरी, शनिबार दिउँसो १ बजेसम्म ६ वटा इन्धानसहित ८० वटा मालवाहक सवारी भित्रिएको छ । भन्सार कार्यालयका अनुसार शुक्रबार ६१ वटा डिजल, १३ वटा पेट्रोलका ट्यांकर तथा ६ वटा एलपिजी ग्यासका बुलेट नेपाल भित्रिएका थिए । शनिबार भित्रिएकामध्ये चारवटा डिजेल र दुईवटा ग्यासको बुलेट रहेको भन्सार कार्यालयले जनाएको छ ।







