कात्तिक २१ । काठमाडौं, कांग्रेस सभापति सुशील कोइरालाले भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माण गर्न गठित प्राधिकरण र मधेसको माग सम्बोधन गर्न संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अघि बढाउने सवालमा एमालेको सहयोग नपाएको बताएका छन्, कान्तिपुर दैनिक लेख्छ।
स्वास्थ्य परीक्षणका लागि अमेरिका जानुअघि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग बोल्दै कोइरालाले भने, ‘यसमा भएको विलम्बप्रति दातृ राष्ट्र र निकायका प्रतिनिधिहरूले समेत असन्तुष्टि जनाएका छन् ।’
कोइरालाले तराई(मधेसमा जारी आन्दोलनको समाधान वार्ताबाटै खोज्नुपर्ने बताउँदै तत्कालीन सरकारले संविधान संशोधनका लागि ल्याएको दुई विधेयक पारित गर्न वर्तमान सरकारले आलटाल गरिरहेको आरोप लगाए । कांग्रेस, एमाले र एमाओवादीभित्रकै मधेस केन्द्रित सभासदहरूले उठाएका माग सम्बोधन गर्न तत्कालीन सरकारले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक, समावेशी सिद्धान्तअनुसार राज्यका हरेक अंकमा प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई संशोधनमार्फत सम्बोधन गर्न विधेयक संसदमा दर्ता गराएको छ ।
उक्त विधेयक एमाले नेतृत्वको सरकारले अघि नबढाएको भन्दै कांग्रेसले सोमबारदेखि सुरु हुने संसद बैठकमा समेत दबाब कार्यक्रम अघि बढाउने भएको छ । कोइरालाले तत्कालीन सरकारले गरेको राजनीतिक नियुक्ति रद्द गरेकोप्रति पनि असन्तुष्टि जनाए । ‘हामी रचनात्मक सहयोग गर्न तयार छौं । तर, उहाँहरू असहिष्णु हुन खोज्दै हुनुहुन्छ,’ कोइरालाले भने, ‘सहयोगको वातावरण सरकारले नै बनाउने हो ।’
कोइराला स्वास्थ्य परीक्षणका लागि करिब तीन साता अमेरिकामा रहनेछन् । जिब्रो र फोक्सोका क्यान्सर पीडित कोइराला लामो समयपछि स्वास्थ्य परीक्षणका लागि अमेरिका जान लागेका हुन् । जाँदाजाँदै कोइरालाले भारतीय नाकाबन्दीबाट सिर्जित समस्या चाँडो अन्त्य गर्न पनि सरकारसँग आग्रह गरे ।








