कृषि व्यवसायमा माओवादी नेता

भीमदत्तनगर, राजनीतिमा सक्रिय एकीकृत नेकपा माओवादीका कञ्चनपुरका जिल्ला सचिव गोपाल रसायली पछिल्ला दिनमा पार्टीको कामसँगै कृषि व्यवसायमा पनि संलग्न छन् ।

सचिव रसायलीले कञ्चनपुरको दैजी गाविस–९ चतरीमा कुखुरापालन सुरु गरेका छन् । “पार्टीको उत्पादन नीतिअनुरुप कुखुरापालनमा लागेको हुँ ।” सचिव रसायलीले भने, “पहिलो पटकमा ८०० चल्ला हालेको छु ।”

नेता तथा कार्यकर्ताको आर्थिक अवस्था नै मजबुद नभएकाले पार्टी केन्द्रले नै उत्पादनतर्फ लाग्न दिएको निर्देशन अनुरुप आफूसहित केही नेता यहाँ विभिन्न व्यवसाय सञ्चालनमा जुटेको उनको भनाइ छ । “सुरुका ८०० चल्ला तयार भइसकेका छन्” उनले भने।

भारतमा रहँदा पार्टीको अन्तर्राष्ट्रिय विभाग हुँदै जिल्लाको राजनीतिमा सक्रिय भूमिका निभाइसक्नु भएका रसायली महेन्द्रनगर नगरविकास समितिका पूर्व अध्यक्ष समेत हुन् । उनी विभिन्न सङ्घ सङ्गठनमा सक्रिय छन् ।

“कुखुरा उत्पादन र बिक्रीमा व्यापारीको दबदबा रहेछ”, रसायलीले भने, “किसानलाई खासै फाइदा रहेनछ ।”

त्यसैगरी रसायलीसँगै माओवादीकै अर्का जिल्लास्तरीय नेता तथा शान्ति समिति कञ्चनपुरका संयोजक गगन सिंहले पनि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बङ्गुरपालन र माछापालन सुरु गरेका छन् । पुनर्वास नगरपालिका–१० ‘ग’ गाउँमा दुई कट्ठामा बङ्गुरपालन र माछापालन व्यवसाय सुरु गरेको माओवादी जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका सिंहले बताए।

“सुरुमा छ वटा बङ्गुरबाट सात महिनाअघि व्यवसाय सुरु गरेको हुँ”, सिंहले भन्नुभयो, “अहिले बङ्गुर हुर्कीसकेका छन् भने माछापालन पनि राम्रै हुँदैछ ।” उनले आर्थिक लगानी अभावका कारण व्यवसायलाई नयाँ उचाइ दिन नसकेको बताए ।

“अहिलेसम्म रु ८० हजार लगानी गरिसकेको छु”, उनले भने, “अब दसैँपछि व्यवसायलाई बढाउँदै लान्छु ।” पार्टीको उत्पादन नीतिअनुसार व्यवसाय थालेको उनको भनाइ छ । उनले गत पुसदेखि बङ्गुरपालन तथा फागुनदेखि माछापालन सुरु गरेका हुन् ।

“अझै रु तीन लाखसम्म लगानी आवश्यक छ”, उनले भने, “लगानी अभावले चाहेअनुसार व्यवसाय अगाडि बढाउन समस्या भएको छ ।” नेता सिंहले पुनर्वासमै पाँच बिगाहा जमिन भाडामा लिएर उखुखेतीसमेत सुरु गरिसकको बताए ।

पुनर्वास नगरपालिकाकै कालिकामा अर्का नेता रामबहादुर देवकरले पनि बङ्गुर तथा माछापालन गरिरहेका छन्। नेता देवकर माओवादीका पूर्वलडाकूका कमाण्डरसमेत हुन् । उनले स्वेच्छिक अवकाशसँगै पार्टीको राजनीति र व्यवसायलाई निरन्तरता दिइरहेको बताए ।

सम्बन्धित शिर्षकहरु