भदौ २९ । काठमाडौँ, भारतले नेपालमा संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यस क्रममा धेरै विवादित विषय समाधान भइसकेको भन्दै त्यसका लागि नेपाली नेताहरूले प्रदर्शन गरेको एकताको उसले सराहना गरेको छ । नयाँ संविधान मुलुकका सबै क्षेत्र, भाग र समाजले ग्रहण गर्न सक्ने र अपेक्षा पूरा गर्ने हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको पनि भारतले जनाएको छ ।
‘भारतले सधैँ नेपालमा शान्ति स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ’ भारतीय विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी हौँ, जसले नकारात्मक परिणामहरू समेत दिँदै आएका छन् ।’ नेपाल अझै यो संकटबाट माथि उठ्न नसकेको औँल्याउँदै गत वैशाखको महाभूकम्पले पुर्याएको ठूलो क्षतिका सन्दर्भमा यो पीडादायी रहेको विज्ञप्तिमा उल्लेख छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।








