भदौ २८ । काठमाडौँ, आफ्नै निवास बालुवाटारमा आइतबार विहान बोलाएको बैठकमा आउन एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अस्वीकार गरेपछि प्रधानमन्त्री सुशील कोइराला प्रक्रिया केही दिन स्थगन आफ्नो अडानबाट पछाडी हट्न बाध्य भएका छन् ।
ओली र दाहालले ‘कुनैपनि हालतमा संविधानसभाको प्रक्रिया स्थगित गर्न सकिँदैन । तीन दलसहित आन्दोलनकारीसँगको वार्ता अव संविधानसभामा मात्रै हुन्छ, अन्यत्र हुँदैन’ भनेपछि कोइराला अडानबाट पछाडि फर्कन बाध्य भएका हुन् । आफ्नो दूतको रूपमा बनमन्त्री महेश आचार्य र एमाले उपमहासचिव विष्णु पौडेलले शनिबार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग गरेको वार्ताका आधारमा संविधानसभामा मतदानको प्रक्रिया पाँच दिन स्थगित गर्न प्रधानमन्त्री तयार भएका थिए । स्रोतका अनुसार संविधानसभाको मतदान प्रक्रिया पाँचदिन स्थगित गर्ने निर्णय गराउन कोइरालाले बालुवाटारमा आइतबार बिहान तीन दलको बैठक बोलाएका थिए ।
प्रधानमन्त्रीको योजना थाहा पाएपछि दाहालले ‘अब बालुवाटारमा बैठक हुँदैन । जे जती बैठक गर्नुपर्छ, संविधानसभाका अध्यक्षको उपस्थितिमा संविधानसभाका अध्यक्षको उपस्थितिमा संविधानसभा भवन नयाँ बानेश्वरमा हुन्छ । संविधान नबनुञ्जेल संविधानसभा भवनमा खानेबस्ने व्यवस्था मिलाउनु पर्छ’ भनेका थिए । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








