साउन २० । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले वेश्याबृत्तिलाई समाजले तिरस्कार गर्नु पर्ने बताएकी छिन् । भारतीय सञ्चारमाध्यमसँगको एक कुराकानीमा उनले यसले बलात्कारलाई बढावा दिने धारणा अघि सारेकी हुन् । हामीले जति बेश्याबृत्ति अथवा रेडलाइट एरियाका बारेमा सकरात्मक धारणा बनाउछौँ त्यती नै समाजमा बलात्कारले मलजल पाउँछ, उनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाहरूले खवर संप्रेषण गरेका छन् ।
उनले अधिकारबादीहरूले रेडलाइट जोनमा ६ लाख कण्डम वितरण गरेर वेश्याबृत्तिलाई प्रश्रय दिएको प्रति कटाक्ष गर्दै अगाडि भनेकी छिन्, ‘अधिकारवादी संघ संस्थाहरूले बाँडेको ६ लाख कण्डम ६ लाख बलात्कार हो ।’
त्यस्तै उनले भूकम्प पछि भारतको सीमावर्ती क्षेत्रमा नेपालबाट चेलीबेटी बेचविखन भइरहेको बताउँदै यसको कारण रेडलाइट जोनमा हुने वेश्याबृत्ति भएको औँल्याएकी छिन् । नेपालबाट खुलम्खुला मानव तस्करी भइरहेको तर्फ चिन्ता र चासो व्यक्त गर्दै उनले भनेकी छिन्– ‘रेडलाइट एरिया बन्द गराउँदा बलात्कार बढ्छ भन्ने मानसिकताको लागि कुन शव्दले निन्दा गरूँ ? के तिनीहरूलाई थाहा छ कि रेडलाइट एरियामा कहाँबाट महिला ओसारीन्छ ? तिनीहरूलाई कस्तो व्यवहार हुन्छ?’








