साउन १०। काठमाडौँ, नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आइतबारबाट पार्टी कार्यलय रहेको बल्खु प्राङ्गणमा सुरू हुँदैछ । दिउँसो डाकिएको बैठकमा संविधान लेखन, पार्टीमा विभाग गठन, नियमावली पारित गर्ने लगायतका आधा दर्जन बढी एजेण्डामाथि छलफल हुने बताइएको छ ।
संविधान निर्माणको सन्दर्भमा शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दाबाट अलग्गीएको एमाले संविधानको मस्यौदामा जनताबाट आएको सुझावको आधारमा पुरानै अडानमा फर्कने लक्षण देखाएको छ । संविधानमा प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्ने दवाव पार्टी भित्रबाट बाहिरबाटै परेपछि एमाले नैतिक संकटमा परेको हो ।
एमालेले प्रत्यक्ष कार्यकारी छाड्न नहुने भन्दै युवा सदस्यले नेतृत्वलाई दबाब दिन थालेका छन् भने पार्टी अध्यक्ष केपी ओलीले पनि कार्यकारीमै फर्कन संकेत दिइसकेका छन् । तथापी सुझावको संवैधानिक हैसियत नभएकाले मस्यौदामा समेट्नै पर्ने बाध्यतामा संविधानसभा नरहेको तर्क गर्नेहरू पनि छन् ।
शनिबार बसेको पोलिटब्यूरो बैठकमा पनि जनताको राय–सुझाव अनुरुप नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीकै व्यवस्था गर्नुपर्नेमा सदस्यहरूले जोड दिएका थिए । बैठकले जनताको राय–सुझावलाई दलीय सहमतिकै आधारमा मस्यौदामा समेट्दै साउन २५ गतेभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिएको थियो ।








