साउन ५ । काठमाडौँ, चीनका वाणिज्य सचिव चाङ स्योङ्छेन ११ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आएपुगे ।
भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाँ प्रतिबद्धताअनुरुप द्विपक्षीय वार्ताका निम्ति अर्थसचिव चाङ नेतृत्वको टोली भ्रमणमा आएको हो । पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विविध विषयमा आगामी बिहीबार द्विपक्षीय वार्ता हुने र द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने अर्थ मन्त्रालयले जनाएको छ ।
वार्तामा अर्थ, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति र शिक्षा मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
चिनियाँ प्रतिनिधिमण्डलले भूकम्पबाट प्रभावित अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे खण्डका साथै निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । चिनियाँ टोलीले क्षतिग्रस्त बौद्धस्तुपलगायत ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पादास्थलको पनि भ्रमण गर्ने उक्त मन्त्रालयले जनाएको छ ।
गत महिना यहाँ सम्पन्न नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले रु ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त सहायता आगामी तीन वर्षका लागि हो । पुनःनिर्माणसम्बन्धी कामका लागि नेपाल सरकारका अधिकारीसँग समन्वय गर्न तथा सहायता परियोजनाको स्पष्ट खाका तयार गर्न चिनियाँ विदेश मन्त्रीले चीनबाट प्रतिनिधिमण्डल आउने घोषणा पनि सोही सम्मेलनमा गरेका थिए।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव यसैवर्ष परेको सन्दर्भमा चिनियाँ अर्थ सचिवको यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।








