२३ असार । काठमाडौँ, प्रमुख चार रजनीतिक दलले आर्थिक वर्ष २०७२÷७३ को वार्षिक बजेटका सम्बन्धमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सबै दलको सहमतिका बजेट ल्याउने र त्यसमा समावेश गरिने विषयमा छलफल भएको थियो ।
आगामी साउन १५ भित्र संविधान जारी हुने र संविधान जारी भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्थामा सबैले स्वीकार गर्न सक्ने बजेट ल्याउनुपर्नेमा छलफल केन्द्रित रहेको थियो ।
सरकारले व्यवस्थापिका–संसद्मा बुधबार नीति तथा कार्यक्रम प्रस्तुत भएको सन्दर्भमा बजेटमा समावेश गर्ने विषयमा छलफल केन्द्रित रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।
भूकम्पपछिको पुनः निर्माणमा बजेट केन्द्रित हुनुपर्ने चर्चा भइरहेको बेला बजेटका समग्र पक्षको विषयमा चार राजनीतिक दलको छलफल भएको उनको भनाइ छ ।
बैठकमा बजेटको तयारीका विषयमा अर्थमन्त्री डा रामशरण महतले जानकारी गराउनुभएको थियो । बजेट निर्माणका सम्बन्धमा प्रमुख दलका पूर्वअर्थमन्त्री सम्मिलित कार्यदलले अर्थमन्त्रीलाई सहयोग गर्दै आएका छन् ।
बैठकपछि अर्थमन्त्री डा महतले बजेट निर्माणका सम्बन्धमा हालसम्म भएका तयारीका बारेमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी गराए ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुनलगायतको सहभागिता थियो ।
बजेटका सम्बन्धमा पुनः चार पक्षबीचमा छलफल गरिने र सबैको सहमतिमा बजेट ल्याइने सहमतिसमेत भएको बुझिएको छ । प्रमुख प्रतिपक्षी दल एमाओवादीले बजेट निर्माणका सम्बन्धमा आवश्यक सहयोग प्रदान गर्न पूर्वअर्थमन्त्री पुनको संयोजकत्वमा संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक गिरिराजमणि पोखरेल, सभासद् तथा पूर्वसचिव जनकराज जोशी र सभासद् शक्तिबहादुर बस्नेत सदस्य रहेको कार्यदल गठन गरेको छ ।
यस्तै सत्तारूढ दल काँग्रेस र एमालेले पनि बजेटका विषयमा समान धारणा बनाउन कार्यदल बनाएर काम गरेका छन् । आजको बैठकमा कार्यदलले गरेको काम र हालसम्मको तयारीका बारेमा समेत छलफल भएको बुझिएको छ । गराएका थिए








