एनआरएन अष्ट्रेलियाको चुनाव आउँन दुई दिन बाँकी रहँदा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरू आ आफ्नो एजेण्डा र उम्मेदवारीको औचित्य पुष्ट्याईं गर्ने कार्यलाई तिव्रता दिइरहेका छन् ।
यसैसन्दर्भमा विभिन्न राज्यका लागि उम्मेदवारी दिएकाहरूले पनि आ आफ्नो राज्यका मतदाताहरूसँग आफ्ना कुराहरू राखिरहेका छन् । त्यहीमध्येका एक हुन् सुधा गुरागाईं । महिलाको सहभागिता बढाउन आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताउने सुधाका अतिरिक्त योजनाहरू पनि छन् ।
यसकारण मेरो उम्मेदवारीः
एनआरएनए भिक्टोरियाको सह–कोषाध्यक्ष (एससीसी सह–कोषाध्यक्ष) पदमा उम्मेदवारी दिएकी छु । मैले यस अघिपनि कार्य समितिमा रहेर काम गरिसको छु । गत कार्यकालमा सिकेका उपलब्धिहरू संस्थागत गर्नकै लागि मैले यसपटक पनि उम्मेदवारी दिएकी हुँ । आर्थिक पारदर्शीता, इमान्दारीता र संस्थागत विकासका लागि सामूहिक सहकार्य गर्न एनआरएन महत्वपूर्ण फोरम हो । यस्ता सामाजिक संस्थाहरूमा महिला सहभागिता बढाउन महिलानै सक्रिय हुनु आवश्यक हुन्छ । त्यसैको लागि नै मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुँ ।
एनआरएनएद्वारा शुरू गरिएका कार्यक्रमर यसका भावी योजनाहरू असाध्यै राम्रा छन । तर त्यसलाई पूरा गर्न सामूहिक सहभागीताको अत्यन्त खाँचो छ । किनभने ती कार्यक्रमहरू एकल प्रयासबाट मात्रै पूरा गर्न असम्भव हुन्छ । त्यसैले सामूहिक प्रयासको लागि आह्वान तथा सहयोग गर्न मैले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको हुँ ।
भिक्टोरीयामा बस्ने नेपालीहरूको समस्याहरूको समाधान मेरो प्रमुख एजेण्डाः
भिक्टोरीयामा नेपाली समूदायका अनेकन समस्याहरू छन् । नेपालीले भोग्दै आएका समस्याको सम्बोधनको पहल गैर आवासीय नेपालीहरूको शीर्ष संगठन भएको नाताले एनआरएनकै हो । त्यसैले भिक्टोरियाका नेपालीहरूको विभिन्न समस्याहरूलाई आफूले पनि नजिकबाट देखिरहेको र भोगिरहेको हुनाले त्यसको निराकरण गन म दत्तचित्त भएर लागि पर्ने छु ।
एनआरएन विशुद्ध सामाजिक संस्था हो भन्ने भावना जागृत गराउनः
एनआरएन विशुद्ध सामाजिक संस्था हो । तर, अझै पनि धेरैलाई यो व्यापारीहरूको संस्था हो भन्ने लागेको छ । त्यसैले यो व्यापारीहरूको संस्था होइन भन्ने कुरा धेरैलाई बुझाउन आवश्यक छ । साथै गैर आवासी नेपाली समूदाय मार्फत नेपालको बृहत्तर विकास र सम्भावनायुक्त भविष्यको जगेर्ना गर्नपनि म उम्मेदवारको रूपमा समूदायकाबीच उपस्थित भएको हुँ ।







