अष्ट्रेलिया, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा हार्दिकतापूर्ण प्रतिष्पर्धा देखिएको छ । आगामी चार जुलाई अर्थात शनिबार हुन लागेको निर्वाचनमा दुई अध्यक्षका प्रत्यासीबीच एक अर्काबीच शुभकामना साटासाट भएको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्र सिग्देलले फेसवुक वालमा लेखेको चुनावी सन्देशमाथि कमेन्ट गर्दै अध्यक्षका अर्का प्रत्यासी भरत पोखरेलले उनलाई विजयीको अग्रिम बधाई दिएका छन् । सिग्दलले स्ट्याटसमा ‘आउनुहोस यो परदेशमा हामीबीचको आत्मियता, सदभाव, एकता र भाइचारालाई मजबुत बनाउँ, एनआरएनए अस्ट्रेलियालाई साझा चौतारीको रूपमा परिमार्जित गरौँ’ भनेर लेखेका छन् र त्यसको तल कमेन्ट गर्दै पोखरेलले बिजयको शुभकामना दिएका छन् ।
दुई उम्मेदवारबीचको तिव्र प्रतिष्पर्धामा देखिएको यो हार्दिकताले अष्ट्रेलियाबासी नेपाली समूदाय थप उत्साहित भएका छन् । आगामी नेतृत्वलाई लिएर उम्मेदवारबीच कटुता र तिक्तता उत्पन्न भएको भन्ने बजार हल्ला चलेको भएता पनि यो सन्देशले उम्मेदवारहरू एकआपसमा हार्दिकतापूर्ण प्रति प्रतिष्पर्धा गरिरहेका छन् भन्ने प्रमाणित भएको छ । त्यसो त एनआरएनए अष्ट्रेलियाका अग्रजहरूले निर्वाचनमा कुनै पनि हालतमा समूहबन्दी तथा गुटबन्दी मौलाउन नदिने र प्यानलगत प्रतिष्पर्धा पनि हुन नदिने र यदि भए गरेको पाइएमा उम्मेदवारी रद्द समेत गर्न सक्ने बताउँदै आएका छन् । निर्वाचन आयोगले पनि सोही मुताविक चुनावी तयारी गरिरहेको छ ।







