नेपाल, भारत, बङ्गलादेश र भुटानबीच आगामी असोजदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा आउने

असार  ३ । काठमाडौँ, नेपाल, भारत, बङ्गलादेश र भुटानबीच आगामी असोज महिनादेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा आउने भएको छ ।

निजी, सार्वजनिक र मालबाहक सवारी साधनले ती चार देशलाई असोज महिनादेखि एकापसमा जोड्न लागेको हो । यसका लागि भुटानको राजधानी थिम्पुमा सम्पन्न चार देशका यातायात मन्त्रिस्तरीय बैठकपछि भएको ‘मोटर भेहिकल्स एग्रिमेन्ट फर दि रेगुलेसन अफ प्यासेन्जर, पर्सनल एन्ड कार्गो भेहिकुलर ट्राफिक बिटुविन बङ्गलादेश, भुटान, इन्डिया एन्ड नेपाल बिबिआइएन एमभिए’ सम्झौता भएपछि चार देशमा यातायात सञ्चालनका लागि बाटो खुला भएको हो ।

विशेष गरी नेपालमा वैशाख १२, १३ र २९ गते विनाशकारी भूकम्प र यसपछिका परकम्पले पु¥याएको क्षतिलाई पुनःनिर्माण तथा पुनःस्थापनाका लागि तेस्रो मुलुकबाट निर्माण सामग्री ल्याउन सहज एवम् सहयोग पुग्ने बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री निधिले सो सम्झौताले चार देशका जनता एक अर्को देशमा भ्रमणका लागि सहज रुपमा आवतजावत गर्न मार्ग प्रशस्त गरेको बताउनुभयो ।

सो सम्झौतालाई ती देशले ऐतिहासिक र कोसेढुङ्गाका रुपमा लिएका छन् । सबै देशका बीचमा द्विपक्षीय सम्झौता भएपछि सो सम्झौता कार्यान्वयनमा आउने छ । नेपाल र भारत बीचमा भने गत मङ्सिरमा सम्पन्न दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन ९सार्क० सम्मेलनका क्रममा सम्झौता भइसकेको छ ।

भदौको अन्त्यसम्ममा द्विपक्षीय सबै काम सम्पन्न गरिने र असोजदेखि यातायात सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । मन्त्री निधिले सम्झौताले बङ्गलादेश, भुटान, भारत र नेपालको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सम्मेलनका क्रममा भुटानका राजा जिग्मेकेशर न्याम्ग्याल वाङ्चुकसँग मन्त्री निधिले भेटवार्ता गर्नुभएको थियो । उहाँका अनुसार भुटानी राजाले हालै नेपालमा भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गर्नुुभएको थियो ।

यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले पनि आफूलाई फोन गरी भूकम्पले पु¥याएका क्षतिप्रति दुःख व्यक्त गर्नुभएको मन्त्री निधिले जानकारी दिनुभयो ।

मन्त्री निधिले सम्मेलनमा भाग लिएर फर्किने क्रममा बुधबार भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग नयाँदिल्लीमा भेट गरी हुलाकी सडकबारे छलफलसमेत गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु