व्यक्तिगत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइन आवदेन भर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरणको प्रक्रियामार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ ।

कार्यालयले विदेशस्थित नेपाली दूतावासबाट प्रमाणित भएर आएका मागपत्रसम्बन्धी कागजात वैदेशिक रोजगारीमा जाने सम्बन्धित व्यक्तिले नै प्रिन्ट गरी विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस)मा अपलोड गर्नुपर्नेसमेत जानकारी गराएको छ ।

आजदेखि विभागको प्रणालीमा आवेदन गर्दा विदेशबाट आएका मागपत्रमा कार्यालयको छाप लगाउनुपर्ने छैन भने सम्बन्धित कामदारले आफ्नो पायक पर्ने स्थानबाट आवेदन गर्न सक्नेछन् ।

ताहाचलले अबदेखि सम्बन्धित नेपाली राजदूतावास वा कम्पनीले कामदारको इमेलमा प्रमाणित कागजात पठाएपछि आफ्नो कार्यालयमा त्यसको प्रतिलिपि हुबहु पठाउनुपर्ने जनाएको छ ।

कार्यालयले कतार, कुवेत, यूएई, रोमानिया, अल्वानिया, पोल्याण्ड, माल्दोभा, क्रोएसिया, हंगेरी, बेलारूस र स्लोभाकियाबाट व्यक्तिगत नयाँ श्रम स्वीकृति वा वैधानिकीकरण गर्दा सम्बन्धित देशको नेपाली दूतावास र कम्पनीबाट वैदेशिक रोजगार कार्यालय ताहाचलको इमेलमा पठाई ती कागजातमा उक्त कार्यालयले प्रिन्ट गरी छाप लगाई सम्बन्धित व्यक्तिले अनलाइनमा अपलोड गरेपछि श्रम स्वीकृति दिने गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु