काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणमा काठमाडौं आइपुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुग्नुभएको छ।विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आइपुग्नुभएको हो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउनुभएको हो। भारतको नयाँ दिल्लीबाट उडान भरेको डीयर एयरलायन्सको विमानबाट उनी काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। यीलाई स्वागत गर्न नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि विमानस्थल पुगेकी थिइन्।
त्यस्तै यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेग्लाबेग्लै भेट्ने कार्यक्रम छ।
नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच भने शनिबार द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसरि सिष्टाचार भेट पश्चात विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नुहुने कार्यक्रम तय गरिएको छ।








