काठमाडौं । होली एक महत्त्वपूर्ण पर्वको रुपमा मनाउदै आएको इतिहास हाम्रो देशमा रहेकोे छ होली । यहि अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन। फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरु तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले होलीमा खेलिने विविध रङहरूको महत्त्व जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्। सम्पूर्ण नेपाली जनसमुदायको यही विविधताबीचको एकता नै हाम्रो नेपालीपन झल्काउने पहिचान बनेको प्रधानमन्त्रीको भनाई छ। नेपालमा फाल्गुन शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लाहरुमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा विभिन्न रङ्ग र अबीर खेल्दै फागुपूर्णिमा हर्षोउल्लासका साथ मनाउने गरिन्छ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण नभइसकेको यो वर्तमान अवस्थामा सम्पूर्ण स्वास्थ्यका मापदण्डहरुको पालना गर्दै र कसैलाई पनि अप्ठ्यारो नपार्ने, अवरोध नहुने गरी निकै सभ्य,भव्य र मर्यादितरूपमा होली पर्व (फागु पूर्णिमा) मनाउनहुन समेत आग्रह गरेका छन्।
यसका साथ-साथै उनले नेपाली समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य,सुशासनको कायम र सुसंस्कृत समाज निर्माण गर्न यो पर्वबाट सबै नेपालीलाई प्रेरणा समेत मिल्ने विश्वाससमेत व्यक्त गरेका छन्। सम्पूर्ण नेपालीहरुको जिवन होली पर्वमा लगाइने रंगहरु झै रंगिन बनोस् भन्दै सबैमा शुभकामना व्यक्त गरेका छन।








