कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुरमा देशमै पहिलो तार भूमिगत गरेर नयाँ शहरको योजना

काठमाडौँ । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ ।
विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर पराशर घिमिरेले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपबाट बच्न पर्याप्तमात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार शहरका रुपमा स्थापित गर्ने गरी काम अघि बढेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं.१, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं. ९ भित्रको करिब २६ हजार रोपनी जग्गामध्ये २० हजार रोपनी जग्गा एकीकरण गरेर नयाँ शहर बनाउन लागिएको हो ।
यसका लागि पूर्वी काठमाडौँ नयाँ शहरी आयोजना गत वर्ष स्थापना गरी सञ्चालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।
“आयोजना सञ्चालन गर्न तीन वटै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडा अध्यक्ष, तीन वटै नगरपालिकाका कानूनी सल्लाहकार, जग्गा धनी, मोही र सरोकार भएका सरकारी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी ४० सदस्यीय समिति गठन गरिएको छ”–उहाँले भन्नुभयो ।
समितिको अध्यक्षमा कागेश्वरी मनोहराका नगर प्रमुख थापा तोकिनुभएको छ । यसैगरी सहअध्यक्षमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ रहनुभएको छ । आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकता अनुसार उपसमिति, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानून बमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो ।
आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सो को प्रतिवेदन नगर कार्य पालिका समक्ष पेश गरिने भएको छ । आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा आयोजना कार्यालय स्थापना गरी सम्भाव्यता अध्ययनको काम पूरा गरिएको छ ।
आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शङ्खरापुर नगरपालिकाले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । सो रकमलाई तीन नगरपालिकाको सभाबाट सम्बोधन गरी विनियोजन ऐन २०७७÷२०७८ मा उल्लेख गरेपछि गत आर्थिक वर्षदेखि नै काम अघि बढेको हो ।
वाग्मती र मनोहरा नदी किनारका फाँट रहेको आयोजना स्थलका बहाव क्षेत्रको दायाँबायाँ २०÷२० मिटरमा सडकसमेत बनाउन नदिने गरी काम अघि बढाइएको इञ्जिनीयर घिमिरेले बताउनुभयो । यसले गर्दा नदीमा बाढी आउँदा घर र व्यसायी नडुबाउने गरी शहर निर्माण गरिँदैछ । राजधानीमा आवासीय क्षेत्रको माग पूरा गर्न काम शुरु गरिएको आयोजना प्रमुख इञ्जिनीयर दीपक श्रेष्ठले बताउनुभयो ।

 

आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि जग्गाधनी तथा मोहीलाई जानकारी दिन अन्तरक्रिया सञ्चालन गरिएको छ । आयोजना अन्तर्गत नै गोकर्णेश्वर महादेव मन्दिर परिसरबाट सुन्दरीजलसम्मको वाग्मती कोरिडोरसमेत निर्माण गर्ने गरी योजना बनाइएको छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग पनि समन्वय गरिने आयोजनाले जनाएको छ ।
अन्तरक्रियामापर्फत् आयोजनामा सहभागी हुन निवेदन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनको काम सम्पन्न गरी हाल विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको काम भइरहेको छ । असोजसम्ममा प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पारितका लागि पेश गरिने छ । मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएपछिमात्र आयोजनाले वैधानिकता पाउनेछ । वैधानिकता दिएर तिहारपछि देखि स्थलगत रुपमै जग्गा एकीकरणको काम शुरु गर्ने आयोजनाको लक्ष्य छ ।
एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ । दुई हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने जनाइएको छ । जग्गा एकीकरण गर्दा जग्गा धनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ ।
हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ । यसै महिनादेखि आयोजनाका लागि जग्गा रोक्का गर्ने तयारी पनि आयोजनाले गरेको छ ।

सम्बन्धित शिर्षकहरु