नेपाली काँग्रेसमा महाधिवेशनको रन्को, द्विपक्षीय एवं त्रिपक्षीय वार्ता जारी

–शान्ति भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै चहलपहल शुरु भएको छ ।
दैनिकजसो नेताहरुबीच द्विपक्षीय एवं त्रिपक्षीय वार्ता चलिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले फेरि अर्को कार्यकाल पनि नेतृत्वका लागि भिड्ने घोषणा गर्नुभएसँगै समीकरण बदलिने सङ्केत देखापरेको छ । देउवाका विश्वास पात्र उपसभापति बिमलेन्द्र निधिले पनि सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्दै छलफल थाल्नुभएको छ ।
निधिले महामन्त्री डा शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग विवाह वर्षगाँठको अवसर पारेर आयोजना गर्नुभएको दिवा भोजमा तीन नेता एउटै मोर्चा बनाएर अघि बढ्ने समाचार सार्वजनिक भएसँगै पार्टीभित्र नयाँ समीकरण बन्न सक्ने विश्लेषण भइरहेको छ ।
तीनै जना नेता पार्टीका संस्थापक नेताका पुत्र हुनुहुन्छ । शशाङ्क पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी, प्रकाशमान सर्वोच्च नेता गणेशमान सिंह र बिमलेन्द्र पूर्व महामन्त्री महेन्द्रनारायण निधिका पुत्र हुनुहुन्छ । सिंह र निधि विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ भने कोइराला चिकित्सा पेशा छोडेर राजनीतिमा सक्रिय हुनुभएको हो ।
तीन नेता एउटै मोर्चा बनाएर अघि बढे काँग्रेस राजनीतिमा त्यसले तरंग ल्याउनेछ । यो मोर्चा पार्टीको नेतृत्वमा आउने सम्भावना धेरै रहने विश्लेषण गरिएको छ । तीन नेताबीच दुई चरणमा वार्ता भइसकेको छ । पहिलो चरणमा निधि निवास र दोस्रो चरणमा शशाङ्क निवास महाराजगञ्जमा छलफल भएको हो । छलफल सकारात्मक रुपमा अघि बढेको समाचार सार्वजनिक भइरहेको छ ।
पौडेल, सिटौला र सुजाताबीच मण्डिखाटारमा छलफल
यसैबीच आज महाधिवेशनबारे पार्र्टीका तीन नेताबीच छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।

सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्ने बारेमा केन्द्रीत रहेर सो अवसरमा छलफल भएको केन्द्रीय सदस्य कोइरालाले राससलाई जानकारी दिनुभयो । “गुट उपगुटका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो”, उहाँले भन्नुभयो ।
यस्तै, मुलुकको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरुबीच नेतृत्वका लागि छलफल र भेटघाट बाक्लिएको छ ।
केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधि र कोइराला निवासमा भेटघाट भइसकेको छ । यस्तै, सभापति शेरबहादुर देउवाले पनि आगामी महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल अगाडि बढाउनु भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।
आजै पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले वरिष्ठ नेता पौडेललाई भेटी सभापति पदमा सहयोग गर्न आग्रह गर्नुभएको छ । पौडेललाई प्रधानमन्त्री बन्न अनुरोध गर्नुहुँदै कोइरालाले संस्थापन इतरका नेता एक भएर महाधिवेशनमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

सम्बन्धित शिर्षकहरु