७ सय ४८ पालिकामा पुगे वाणिज्य बैंक, यी हुन् शाखा नपुगेका ५ पालिका

काठमाडौं  । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४८ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७७ असोजसम्ममा नेपालका ५ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् ।

यसका साथै बैंक तथा वित्तीय संस्थाको संख्या असोज मसान्तमा १ सय ४६ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकोमा २०७७ फागुन मसान्तमा ९ हजार ९ सय ३ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच वटा पालिकाबाहेक सबै पालिकामा ‘क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का एक सय ३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन ।

वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु