काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा काठमाडौंमा १, वीरगन्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको छ । काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाइ नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको हो । ती व्यक्ति मधुमेह र दमका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । साउन २३ गते बिहान उनको कोशी अस्पताल विराटनगरमा उपचाररको क्रममा मृत्यु भएको हो ।
निमोनिया भई श्वासप्रश्वासमा कठिनाई भएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि सप्तकोशी अस्पतालमा उनको उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई कोशी अस्पतालमा रिफर गरिएको गौतमले बताए । उनी उच्च रक्तचापका बिरामी समेत थिए ।
यता, काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको छ । उनी पाटन अस्पतालमा उपचाररत थिए। उनको साउन २३ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।








