काठमाडौं । प्रतिनिधि सभामा नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ ।मंगलबार बस्न लागेको सभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्न लागिएको न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफे जानकारी दिइन ।
कानुनमन्त्री तुम्बाहाङफेले लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी ल्याएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् ।
यहि जेठ १९ गते संघीय संसद सचिवालयले सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा विधेयक प्रकाशित गरेको थियो । त्यसको सात दिन पुरा भएपछि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुन लागेको हो ।
संविधान संशोधनसँग सम्बन्धित विधेयक सर्वसाधरणको जानकारीका लागि सार्वजनिक भएको सात दिनपछि छलफलका लागि संसदमा प्रस्तुत गर्न योग्य हुने प्रावधान नियमावलीमा छ ।
संसदमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुन्छ । त्यसपछि सभामा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनेछ ।
सैद्धान्तिक छलफल सकिएपछि सांसदहरुलाई ७२ घण्टाको समय दिएर संशोधन हाल्न दिने व्यवस्था छ ।
संसद सञ्चालन नियमावलीको व्यवस्था अनुसार विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि संशोधन दर्ता गराउन समय दिने र प्राप्त संशोधनमाथि छलफल गरेर विधेयक पारितको प्रक्रियामा जानेछ ।







