नेपाल विद्युतमा आत्मनिर्भर,खपत घट्दै, अर्को वर्षदेखि खेर जाने

काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको ६० मेगावट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै नेपाल विद्युतमा करिब आत्मनिर्भर भएको छ। एक वर्ष भित्र नै नेपाललाई विद्युत् प्रयाप्त पुगेर निर्यात गर्नुपर्ने अवस्थामा आउने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले उल्लेख गरेको छ।

आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशीको ४५६ मेगावाटसहित एक हजार ५०० मेगावट विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोडिने नेपाल विद्युत् प्राधिरकणले जनाएको छ। विद्युतको उत्पादन बढ्दै गएको अवस्थामा नेपाल विद्युत् प्राधिरकणको तयारी भने विद्युत महसुल वृद्धितर्फ गएको छ।अर्कातिर निजी क्षेत्रका उत्पादकहरूले भने बजारमा नपाउने भन्दै सरकारलाई सचेत गराएका छन्।

यही चर्चाबीच बिहीबार र शुक्रबार काठमाडौंमा हुने पावर समिटमा क्षेत्रीय व्यापार सहजीकरणको मुद्दालाई प्रमुखताका साथ उठाइएको छ। विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा खपततर्फको योजना भने कमजोर देखिएको छ। सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म देशभित्र १० हजार मेगावट विद्युत खपत हुने लक्ष्य निर्धारण गरेको छ।

अहिले विद्युत खपत करिब एक हजार ७० मेगावट रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यो खपत आर्थिक वर्ष २०७२/७३ को तुलनामा करिब ३०० मेगावट थोरै हो। सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य राखेको छ। यस्तो अवस्थामा निजी क्षेत्रले बजारको अभावको सम्भावनालाई लिएर सरकारको ध्यानकर्षण गराएको छ।

सम्बन्धित शिर्षकहरु