मन्त्री हेरफेरलार्ई लिएर राजीतिक सरगर्मी बढ्यो,सांसदको दौड र मिडियाको होडबाजी

काठमाडौं । मन्त्री हेरफेरलार्ई लिएर फेरी एकपटक राजीतिक सरगर्मी चढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमता कमजोर भएका मन्त्रीलाई फेर्न खोजेपछि सांसदहरुको दौड र मिडियाको होड चलेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरी प्रधानमन्त्री ओलीले करिव १० मन्त्री हेरफेर गर्दैछन् । १० मन्त्री हेरफेर हुने भएपछि सांसदहरु दौडमा जुटेका छन् । पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ७ मन्त्रीले यतिबेला विदा पाउँदैछन् ।

पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ मन्त्रीबाट विदा हुने लगभग निश्चित छ । श्रममन्त्री गोकर्ण बिष्ट र अर्थमन्त्री युवराज खतिवडालाई पनि विदा दिने बिषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । तर निर्णय भने भइनसकेको स्रोतले बताएको छ ।

केही मन्त्रीहरु बिदा हुनेभएपछि पूर्वएमालेबाट मन्त्रीहरुको चर्चा चल्न थालेको छ । नयाँ मन्त्रीमा सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, यज्ञराज सुनुवार, कृष्णगोपल श्रेष्ठ, बसन्त नेम्वाङ, महेश बस्नेत, पार्वत गुरुङको चर्चा चलेको छ । तर उनीहरुका बिषयमा नेकपाभित्र सहमति भने भइसकेको छैन ।

त्यसैगरी पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री बिना मगरलाई विदा तयारी गरिएको छ । पूर्वमाओवादीबाट नयाँ अनुहारमा जनार्दन शर्मा, देवेन्द्र पौडेल र पम्फा भूसाल मन्त्री बन्ने लगभग निश्चित छ ।

३० कार्तिकमा हुने समाजबादी नेपालको केन्द्रीय समिति बैठकपछि मन्त्री हेरफेरको तयारी थालिएको छ । ३० कार्तिकको केन्द्रीय समिति बैठकबाट समाजबादीले सरकार छाड्ने आँकलन गरिएको छ । समाजबादीले सरकार छाडे नेकपाले थप दुई मन्त्री नियुक्त गर्नेछ ।

सम्बन्धित शिर्षकहरु