समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह

काठमाडौं  । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभएको छ । चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाज कल्याण परिषद्द्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु-याए जस्तै गरी सामाजिक सङ्घसंस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक सङ्घसंस्थाको कर्तव्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा मात्रै सामाजिक सङ्घसंस्था फस्टाउन सक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ, वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक सङ्घसंस्थाले खेलिरहेको भूमिका सराहनीय छ, आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।”

उपराष्ट्रपति पुनले केहीले राम्रो काम गरिरहेको उदाहरण भए पनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा कुनै सानो सामाजिक कामका लागि बैठक बसौँभन्दा भत्ता कति आउँछ भन्ने प्रवृत्ति निकै बढेको पाइन्छ, जस्तो कर्णालीका स्थानीय जनताका लागि स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उत्पादनको सोचको विकास गर्नुभन्दा निरन्तर चामल पठाइराख्ने र परनिरर्भर बनाइराख्नेमा मात्रै हामी केन्द्रित भएका त छैनौँ ।”

सम्बन्धित शिर्षकहरु