आगामी तीन दिनसम्म देशभरजसाे भारी वर्षा जारी रहने सम्भावना रहेकाले बाढीपहिरोबाट सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना छ।
धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्नेहरूलाई होसियारी अपनाउन उनको सुझाव छ। मौसमविद् बासीका अनुसार हिजो मंगलबार पनि देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ। अहिले पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा जारी छ।
उनका अनुसार अब वर्षे झरी सुरु भएको छ। ‘करिब–करिब झरी टाइपकै वर्षा सुरु भएको छ,’ उनले भनिन्, ‘आउने तीन दिनसम्म यो जारी रहने देखिएको छ।’ सामान्यतया मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
बाढीको बढी जोखिम भएका जिल्ला
बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
आफ्नो ट्विट अकाउन्तमार्फत महाशाखाले भनेको छ– चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपास जिल्लाबाट बहने केही साना खोलामा एक्कासि बाढी आउन सक्छ, राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाऔं।’
यस्तो छ, तीन दिनसम्म वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (शुक्रबार) सम्म देशभरजसो वर्षा जारी रहने जनाएको छ। यस क्रममा विभिन्न स्थानमा भारी तथा केही स्थानमा अति भारी वर्षा पनि हुने उसको अनुमान छ।
हेर्नुहोस्, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनः
जारी मितिः २०७६-०३-२५ बुधबार, बिहान: ६ बजे
असार २५ गते (बुधबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानमा वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना भने एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असार २६ गते (बिहीबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
असार २७ गते (शुक्रबार)
दिउँसो: देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वका धेरै स्थानमा वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वका धेरै स्थानमा वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।







