काठमाडौं । एक साता लामो अमेरिका भ्रमण सकेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्कनु भएको छ । विमानस्थालमा कुरा गर्दै उहाँले अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको टिप्पणी गर्नुभएको छ ।
पत्नी सिता दाहालको स्वास्थ्य उपचार गरी अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्किनुभएका उहाँले यस्तो बताउँनुभयो । उहाँले अमेरिकामा बस्ने नेपालीहरुले नेपाललाई बदनाम गर्ने तथा नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक दृष्टिकोणले हेर्ने केही नेपालीहरु रहेको जानकारी दिनुभयो ।
उहाँले आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परे पनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दूतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको पनि उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले पत्नी दाहालको अमेरिकाको तीनवटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधीले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिनुभएको छ ।
भ्रमणका क्रममा त्यहाँ रहेका पार्टीका नेता कार्यकर्ता र अन्य विभिन्न विषयका विज्ञ नेपालीसँग अन्तक्र्रिया भएको जानकारी दिँदै अध्यक्ष दाहालले कार्यक्रम फलदायी भएको बताउनुभयो । “त्यसपछि म्यारिल्याण्ड गयौँ, त्यहाँको प्रदेशसभा सांसदले स्वागत गर्नुका साथै ऐतिहासिकस्थल र संरचनाको अवलोकन गर्ने काम भयो ।
समग्रमा राम्रो सन्देश गएको छ”, उहाँले भन्नुभयो । उहाँले आफ्नो भ्रमणका क्रममा अमेरिकी सरकारको राम्रो सहयोग रहेको जानकारी दिनुभयो । अध्यक्ष दाहाल धर्मपत्नी सीताको पार्किन्सन रोगको उपचारका क्रममा यही चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
विशेष प्रकृतिको रोग भएकाले त्यसको उपचारका लागि जोन हकिङ्स्, जर्ज टाउन र बर्मिङ्घम अस्पतालमा उपचार गराएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।








