काठमाडौं । झापा विद्रोहका शहीदहरूको सम्झना गरिँदैछ। ४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जंगलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा पाँच अगुवा क्रान्तिकारी नेतालाई गोली हानी हत्या गरिएको थियो। २०२९ साल फागुन २१ गते सुखानीको जंगलमा गोली हानी हत्या गरिएकाहरुको सम्झना नेकपालगायत वामपन्थी पार्टिहरूले कार्यक्रम गर्दैछन्। नेकपाले ४६ औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउँदैछ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्मृति दिवस कार्यक्रममा सहभागी हुने नेकपा झापाका नेता चिन्तन पाठकले जानकारी दिए।
इलामको दानाबारी र झापाको सिमानामा पर्ने सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ। पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो। २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई ‘झापा विद्रोह’को रूपमा चिनिन्छ। सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेल सार्ने निहुँमा पाँच युवाको हत्या गरिएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा ४६ वर्षअघि गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ ।
विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।
यही विद्रोहका जगमा नेकपा(माले) नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसद्मा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ । अझै पनि नेमकिपा, नेकपा(मसाल), नेकपा(माले), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा आदि अन्य वामपन्थी समूह पनि संसद्भित्र र बाहिर क्रियाशील छन् ।








