काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले अझै पश्चिमी वायुको प्रभाव कायम रहेकाले बिहीबार पनि काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश भागमा सामान्य र आंशिक बदली रहने जनाएको छ ।
मुख्य गरी देशका पश्चिमी र मध्य क्षेत्रमा आजको मौसम सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मध्य पश्चिमी र पूर्वी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको र हिमाली तथा उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
बिहिबार रातिको मौसम पनि सामान्यतया बदली नै रहने र केहि स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। केहीदिनभित्रै पश्चिमी वायुको प्रभाव हट्दै जाने र मौसममा पनि सुधार आउने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।








