अधिकारका लागि अब कसैले पनि शहीद हुनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे । ‘हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं’, उनले भने, ‘अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।’

सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने टिप्पणी गरे । ‘नेपाललाई प्रकृतिले सम्पन्न र धनी देश बनाएको छ । मानिले यस देशलाई गरिब बनाउनु हुदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले सबैलाई लोभ, लालच र भ्रष्टाचार त्याग्न आग्रह पनि गरे । ‘आज सहीद दिवशको दिन । आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगरौँ । देशको सबभन्दा ठूलो समयस्या भ्रष्टाचार हो । यसबाट देशलाई मुक्त गरौं’, ओलीले थपे । सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौर स्थित शहीद स्मारकमा माल्यर्पण समेत गरे ।

सम्बन्धित शिर्षकहरु