
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनावश्यक आलोचना गरिएको भन्दै आक्रोश पोखेका छन् ।
नेपाल कानुन व्यावसायी संगठनहरुको एकता घोषणा कार्यक्रममा आइतबार बिहान बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि अनावश्यक आक्रमण भएको बताएका हुन् । उनले राष्ट्रपतिको आलोचना र विरोध गर्न नहुने धारणा राखे ।
राष्ट्रपतिलाई चौतर्फी आक्रमण गर्न नहुने उनको तर्क थियो । उनले भने, ‘कहिले राष्ट्रपतिलाई गाडी भन्या छ ? कहिले प्रहरीको तालिम केन्द्र सार्ने भनेको छ ? कहिले के भन्या छ ? राष्ट्रपति कुन दलको भन्या छ ? यसरी चौतर्फी आक्रमण गर्नु हुँदैन ।’
आक्रोशित मुद्रामा देखिएका ओलीले प्रहरी तालिम केन्द्र सार्ने पक्षमा तर्क राखे । उनले महाराजगन्जमा रहेको तालिम केन्द्र प्रहरीलाई साँघुरो भएको स्पष्ट पारे । उनले भने, ‘त्यहाँको ठाउँ सानो भएपछि काभ्रेमा सार्ने निर्णय १५ वर्ष अगाडि भएको थियो । फुटबल खेल्न पनि नपुग्ने ठाउँमा प्रहरीलाई कसरी तालिम हुन्छ ?’
उनले राष्ट्रपतिलाई पनि स्थान कम भएको बताए । उनको प्रश्न थियो, ‘सानो ठाउँमा कसरी बस्ने ? कसरी काम गर्ने ?’ कार्यक्रममा प्रधानमन्त्री ओली कांग्रेसप्रति आक्रोशित देखिएका थिए । उनले कांग्रेसलाई प्रतिक्रियावादीको संज्ञा दिँदै नेकपाले पाएको सरकार कसैले किस्तीमा राखेको नदिएको बताए । ‘हामीले पाएको जनमतको कदर गर्न प्रतिक्रियावादीहरूले सक्नुपर्छ’, उनले भने, ‘हामीले गरेको कामको प्रसंशा गर्नुपर्छ । राम्रा काम गरेका छौँ ।’
पार्टीका नेताहरुले धेरै बोल्न दिएको सुझावप्रति पनि उनले आक्रोश पोखे । ‘म राजनीतिक मान्छे हो, नेकपाको अध्यक्ष हो। प्रधानमन्त्री पनि हो’, उनले आक्रोशित हुँदै अगाडि थपे, ‘म नबोलेर को बोल्छ ? बोल्छु ।’
नेकपामा दुई अध्यक्ष रहेर राम्रो काम गरेको उनको तर्क थियो । शनिबार स्थायी समितिमा नेता वामदेव गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन नहुने भन्दै फरक मत बुझाएका थिए । ओलीले फरक मतप्रति संकेत गर्दै भने, ‘संविधानले मान्दैन । नत्र दुई वटा प्रधानमन्त्री बनाउँथ्यौँ ।’








