काठमाडौं । प्रधानन्यायाधिशको सिफारीस गर्न संवैधानिक परिषद्को बैठक बस्न ढिलाई भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदावधि आगामी पुस १८ गतेबाट सकिने भएकोले २ दिनभित्रै संवैधानिक परिषद्को बैठक बसेर नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने बाध्यता छ ।
अहिले राजधानीमा चलिरहेको एशिया प्यासिफिक समिटमा नै प्रधानमन्त्री पनि व्यस्त रहेका कारण संवैधानिक परिषद्को बैठक बस्न ढिलाई भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण संवैधानिक परिषद्को बैठक आज पनि बस्ने सम्भावना छैन् ।
न्यायपरिषद्ले अघिल्लो साता नै सर्वोच्च अदालतमा तीनवर्ष कार्यकाल पूरा गरेका दीपकराज जोशी र चोलेन्द्र शमसेर राणाको नाम सिफारिस गरेको थियो । जोशी यसअघि पनि संवैधानिक परिषद्बाट सिफारिसमा परेकोमा संसदको सुनुवाई समितिले उनलाई अस्वीकृत गरेको थियो ।
‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम् नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।’ नेपालको संविधानको धारा २८४ को उपधारा ३ मा भनिएको छ ।
यसकारण संवैधानिक व्यवस्था अनुसार दुईदिनभित्र संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको सिफारिस अनिवार्य रुपमा गरिसक्नुपर्नेछ । संविधानकै धारा १२९को उपधारा ३मा ‘सर्बोच्च अदालतको न्यायाधीश पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुनेछ’ भनिएको छ । त्यस्तो योग्यता पुगेका अहिले दुई जना न्यायाधीश मात्रै भएकोले न्यायपरिषद्ले दुई जनाको नाम सिफारिस गरेको हो । यसअघि तीन जनाको नाम सिफारिस गर्ने गरिएको थियो ।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने प्रावधान छ ।








