काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट नेताहरूले अध्यक्ष कमल थापाले बोलाएको कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका छन् । समान विचारधारा भएका पार्टीसँग एकता गर्ने निर्णयमा अध्यक्ष थापा बाधक भएको भन्दै उनीहरूले बिहीबार बोलाइएको बैठक बहिष्कार गरेका हुन् ।
कार्यसम्पादन समितिमा रहेका सदस्यहरू बुद्धिमान तामाङ, टंक ढकाल, दिलविकास राजभण्डारी, जयन्त चन्द र धवलशमशेर राणाले बैठक बहिष्कार गरेका हुन् । पूर्वपदाधिकारीसमेत रहेका उनीहरू बैठकमा अनुपस्थित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘उहाँहरू बैठकमा आउनुभएन,’ श्रेष्ठले भने, ‘बैठकमा उहाँहरू नआए पनि पार्टीलाई कुनै असर पर्दैन ।’
उनीहरू अनुपस्थित रहेको बैठकले गत जेठमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकले पारित गरेका वैचारिक आधारस्तम्भ, रणनीति, कार्यनीति, प्राथमिकता र कार्ययोजनालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकको निर्णयपछि संवद्र्धनवाद राप्रपाको वैचारिक दर्शन हुने भएको छ भने सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न पराराष्ट्र नीति पार्टीको आगामी ‘लाइन’ हुने भएको छ ।
त्यस्तै, पार्टीले संविधानको उपयोग र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति अवलम्बन गर्ने महामन्त्री भाष्कर भद्राले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि ७ फागुनमा देशव्यापी जनसंघर्ष गर्ने निर्णय पनि गरेको छ ।नयाँ पत्रिकामा खवर छ।








