काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीलाई शनिबारदेखि नै रुघाखोकी लागेको थियो । ज्वरो निको भएपनि खोकी लागेका कारण थप उपचारका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताए । उनले भने, ‘डाक्टरहरुकै सल्लाहमा अस्पताल लगेका हौं, स्वास्थ्य अवस्था सामान्य नै छ ।’
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।








