काठमाडौं । सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले मलेसियासँग रोजगार सम्झौता गर्ने अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँसकोटाले बताए।
यसैगरी मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ। ‘भ्रमण अवसरमा कृषि तथा पशु पंक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कुटनीतिक राहदानी बाहकहरूलार्इ दुवै देशले छुट दिने समझदारी पत्रमा हस्ताक्षर हुनेछ’, उनले भने। राष्ट्रपति भण्डारी, गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको नेपाली प्रतिनिधिमण्डल सोमबार कतारको औपचारिक भ्रमणमा निस्किँदैछ।
मन्त्रिपरिषद बैठकले सरकारी निकायमा विद्युतीय पत्रकाचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेकाे छ। सञ्चारमन्त्री बाँसकाेटाका अनुसार अब सरकारी कार्यालयहरूले साेही निर्देशिकाअनुसार काम गर्नुपर्नेछ।








