नदीमा बहाव बढ्ने खतरा, सतर्क रहन आग्रह

काठमाडाैँ । आइतबार देशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिम, पूर्व र मध्य क्षेत्रका केही स्थानमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

अन्य ठाउँमा भने मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन अझै तीन/चार दिन सक्रिय रहने भएकाले वर्षा जारी रहने मौसमविद् प्रधानांगले जानकारी दिए।

यसैबीच बाढी पूर्वानुमान शाखाले ठूला नदी, महाकाली, कर्णाली र कोशीमा आइतबारदेखि वहाब बढ्दो क्रममा रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेको पनि शाखाले जनाएको छ।

यसैगरी मझौला नदी कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, मोहना लगायतका नदीमा पनि आइतबार अपराह्नदेखि नै बहाव बढ्ने भएकाले रातिदेखि भोलिसम्म सतर्कता तहसमेत पुग्न सक्ने खतरा देखिएकाले सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ।

सम्बन्धित शिर्षकहरु