
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद निरुदेवी पालमाथि भएको आक्रमणले काठमाडौंको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उब्जाएको छ।सांसद तथा युवा संघकी पूर्व अध्यक्ष पाललाई मंगलबार साँझ पेस्तोल तेर्साएर धम्काएको घटनाले संसदमा चर्चा पाएको छ। उनलाई बानेश्वर थापागाउँस्थित डेरा नजिक केही अज्ञात व्यक्तिले पेस्तोल तेर्साएर मंगलबार राति धम्काएको उनले जानकारी दिएकी छन्।
गुण्डा र साना हतियारविरुद्ध विशेष कारबाही चलाएको दाबी गरिरहेका सुरक्षा संगठनलाई सांसद पालमाथि भएको आक्रमणले चुनौति थपिदिएको छ। सुरक्षा संगठनको उक्त दावीलाई यो घटनाले मिथ्या सावित गरेको छ। सांसद पालले बिहीबार संसदमै आफूलाई आक्रमण भएको घटना सुनाएपछि प्रहरी थप दवाबमा परेको हो।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनवाई जारी रहेको बेला समिति सदस्य पाल उपर भएको आक्रमणले समेत घटनालाई थप पेचिलो बनाएको हो। उनले आफूलाई धम्काउने युवाले गर्दनमा पेस्तोल राखेर समितिको बैठकमा उपस्थित नहुन चेतावनी दिएको दावी गरेकी छन्। पालले धम्की लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई घटनाका बारेमा जानकारी गराएकी थिइन्।
बुधबारमात्रै उनले संसदीय आचारसंहिता अनुसार सभामुख कृष्णबहादुर महरा र समितिका अध्यक्ष लक्ष्मणलाल कर्णलाई घटनाको औपचारिक जानकारी गराएकी हुन्। संसदीय परम्परा अनुसार संसद सचिवालयले अब दोषी उपर कारबाहीका लागि सुरक्षा निकायसँग समन्वय गर्नेछ।
सांसद पालमाथि आक्रमण भएको घटना सार्वजनिक भएपछि काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेल, नयाँ बानेश्वर वृत्त प्रमुख गोविन्द काफ्ले र महानगरीय अपराध महाशाखाका अधिकारीहरुले उनीसँग भेटघाट गरिरहेका छन्।
सांसद पालले आफ्नो मोबाइल आफू महाराजगन्ज रहँदा फ्लाइट मोडमा राखेको प्रहरीलाई जानकारी दिएकी थिइन्। महानगरीय अपराध महाशाखाले हराएको मोबाइल लोकेशन उनले भनेकै स्थानबाट स्विच अफ भएको पाएको छ।
पालले आक्रमण भएको स्थान क्लोज सर्किट क्यामराको पहुँचमा छैन। घटना स्थलभन्दा केही टाढा सिसिटिभी रहेपनि त्यसबीच थुप्रै चौबाटाहरु भएका कारण उक्त घटना सिसिटिभी भन्दा बाहिर भएको देखिन्छ। अनुसन्धान अधिकारीहरु यतिबेला सिसिटिभी फुटेज मगाएर अनुसन्धान गरिरहेका छन्।
सुरक्षा अधिकारीले सुरुमा आफूहरुलाई घटनाका विषयमा औपचारिक जानकारी नभएको भन्दै सामान्य बनाउने प्रयास गरेका थिए। तर गृहमन्त्री रामबहादुर थापाले समेत संसदमा घटनाको चर्चा गरेपछि प्रहरी थप दवाबमा परेको हो।








