
काठमाडाैँ । शैक्षिक प्रमाणपत्र शंकाको घेरामा परेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदन अन्योलमा परेको छ। उनको शैक्षिक प्रमाणपत्रमा फरक-फरक तथ्यांक भेटिएपछि अनुमोदनको निर्णय पछि धकेलिएको हो।
प्रधानन्यायाधीश अनुमोदन गर्ने-नगर्नेबारे निर्णय गर्न आइतबार बिहान बस्ने भनिएको संसदीय सुनुवाइ समितको बैठक सोमबारका लागि सारिएको छ।
बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको समिति सदस्यहरूले बताएका छन्।
सुनुवाइ समितिका सदस्यहरूका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएको हो।
उक्त सिम्बोल नम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ। जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ। त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन्।
पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ। नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ।
विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो। यसपटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय गर्न सकेको छैन।








