
काठमाडाैँ । साउन १ अर्थात् नयाँ आर्थिक वर्ष सुरू हुने पहिलाे दिन। यस हिसाबले अाज असार ३२ चालू आर्थिक वर्ष २०७४/७५ को अन्तिम दिन हो।
याे अार्थिक वर्षमा सरकारले कति कमायाे त?
आजसम्म सरकारले ७ खर्ब १४ अर्ब १३ करोड ७९ लाख १६ हजार रुपैयाँ कमाइ गरेको छ। सरकारले यो देशभित्र गरेको आम्दानी हो। कर संकलन तथा भन्सार उसका कमाइ स्रोत हुन्।
सरकारले चालू आवमा ७ खर्ब ३० अर्ब रुपैयाँ कमाउने लक्ष्य राखेको थियो। यो वर्ष सरकारले लक्ष्यअनुसार कमाउन सकेन। लक्ष्यभन्दा १६ अर्ब थोरै कमायो। महालेखा नियन्त्रक कार्यलयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार सरकारले आजसम्म १० खर्ब ५८ अर्ब रुपैयाँ खर्च गरेको छ।
सरकारले चालू आबमा १२ खर्ब ६७ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। खर्च स्रोतको लागि आन्तरिक आम्दानी करिब साढे ७ खर्ब र करिव ५ खर्ब रुपैयाँ अनुदान र ऋणबाट जुटाउने लक्ष्य प्रस्तुत गरेको थियो। महालेखाको तथ्याङ्कअनुसार सरकारले चालू खर्चको लागि ८ खर्ब ३ अर्ब रुपैयाँ बिनियोजन गरेको थियो। त्यसमा सरकारले ६ खर्ब ९४ अर्व रुपैंया खर्च गरेको देखिन्छ। सरकारले चालू खर्च ८६ दशमलव ३७ प्रतिशत गरेको छ।
पूँजिगत तथा विकास खर्चको लागि सरकारले ३ खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरेकोमा असार मसान्तसम्ममा २ खर्ब ५५ अर्ब रुपैंया खर्च गरेको छ। विकास खर्च सरकारले ७६ दशमलव १३ प्रतिशत गरेको हो। यो तथ्याङ्कले नेपालको विकास खर्च कम भएको देखाउँछ। कर्मचारीको तलब सुविधा तथा हरेक वर्ष बजेट विनियोजन गर्नु पर्ने क्षेत्रको खर्च छिटो हुने गरेको देखिएको हो।
विकास खर्चमा छुट्याएको करिव २४ प्रतिशत रकम अझै खर्च हुन नसकको देखिन्छ। सरकारले वित्तिय व्यवस्थापनको लागि विनियोजन गरेको १ खर्ब ४१ अर्ब रुपैयाँ मध्ये १ खर्ब ९ अर्ब रुपैंया खर्च भएको छ।
असारमा धेरै खर्च
सरकारले पूँजीगत खर्च शीर्षकमा बिनियोजन गरेको रकम लामो समयसम्म खर्च हुन नसक्ने र असारमा आएर छिटोछिटो खर्च हुने परम्परा चल्दै आएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले कार्यभार सम्हाल्दा असारे विकास रोक्ने दाबी गरेका थिए। वर्षौंदेखि चल्दै आएको परम्परा उनले पनि ताेड्न सकेनन्।
चालू आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म सरकारको पूँजीगत खर्च १ खर्ब ६० अर्ब रुपैयाँ भएको थियो। असार एक महिना थप हुँदा २ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ।
करिब १ महिना अवधिमा सरकारले विकासको नाममा करिब १ खर्ब रुपैयाँ सकाएको हो। जेठ मसान्तसम्म सरकारको कूल खर्च ८ खर्ब ६३ अर्ब रुपैयाँ थियो। असार एक महिना अवधिमा सरकारले झण्डै २ खर्ब रुपैयाँ खर्च गरेको छ।
गत आर्थिक वर्ष २०७३/७४मा भने सरकारले विनियोजन गरेको १० खर्ब ४८ अर्ब रुपैयाँ मध्ये ८ खर्ब ३७ अर्ब रुपैयाँ खर्च भएको थियो। आगामी आवको लागि भने सरकारले कुल बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेट स्रोतको लागि राजस्व लक्ष्य ८ अर्ब ३१ अर्ब राखेको छ। बाँकी रकम अनुदान र ऋण लिने योजना लिएको छ।








