पेनाल्टीमा पराजित हुँदै विश्वकपबाट बाहिरियो स्पेन

काठमाडाैँ । कोके र इगो आस्पास पेनाल्टीमा चुकेपछि २०१० को विश्वकप विजेता स्पेन विश्वकपबाट बाहिरिएको छ भने आयोजक रुस क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति मस्कोको लुजनिकी स्टेडियममा भएको नकआउट चरणको खेल निर्धारित समय र थपिएको समयमा १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी तर्फ धकेलिएको थियो। पेनाल्टीमा रुसले स्पेनलाई ४–३ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको छ।

रुसका फेदर स्मोलोभ, सर्गी इन्गासेभिच, अलेक्जेन्डर ग्लोभिन, डेरिस चेरिसेभले पेनाल्टी परिणत गरेका थिए भने स्पेनका आन्द्रेस इनिस्टा, गेरार्ड पिके, सर्जियो रोमासले मात्रै पेनाल्टी परिणत गर्न सके।

यसअघि ४१ अौं मिनेटमा अार्टिम ड्जयुबाले पेनाल्टी मार्फत गोल गर्दै रसियालार्इ १-१ को बराबरीमा पुर्‍याएका थिए। कर्नरबाट अाएको बल ड्जयुबाले हेडर गरेपछि हात माथि गरेर हेडर गर्न उफ्रिएका गेरार्ड पिकेको हातमा लागेको थियो।

रेफ्रीले लगत्तै पेनाल्टी दिए। तर, पिके तथा स्पेनका खेलाडीहरुले भने जानेर नभएर नजानेरै हातले बल छोइएको भन्दै रेफ्रीलार्इ अपील गरेपनि रेफ्रीले न कसैको सुने न भिडियो एसिस्टेन्ट रेफ्री (भार)को पनि सहायता लिए। नतिजा ड्जयुबाले पेनाल्टी मार्फत रसियाका लागि बराबरी गोल फर्काए।

यो यसविश्वकपमा भएको २० अौं पेनाल्टी गोल हो। ड्जयुबा रसियाका अन्तिम ७ विश्वकप गोलमा प्रत्यक्ष संग्लन छन्। उनले ३ गोल गरेका छन् भने ४ मा सहायकको भुमिका खेलेका छन्। त्यसअघि रुसका सर्गी इग्नासेभिकले अात्मघाती गोल गरेपछि स्पेनले सुरुवाती अग्रता लिएको थियो।

 मार्को असिन्सियोले प्रहार गरेको फ्रिकिक इग्नासेभिकमा गएको थियो। गोलपोस्ट नजिकै सर्जियो रोमाससँग भिड्दै लडेपछि उनको पछाडी खुट्टामा लाग्दै गोल भएको थियो।

योसँगै इग्नासेभिक विश्वकपको इतिहासमा अात्मघाती गोल गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन्। उनी अाज ३८ वर्ष ३ सय ५२ दिनका भए।

सम्बन्धित शिर्षकहरु