
काठमाडाैँ । काठमाडौंमा विरोध प्रदर्शनस्थल तोकेको सरकारले भक्तपुर र ललितपुरमा पनि सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको छ। विहीबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले विरोध तथा सार्वजनिक कार्यक्रमका लागि ठाउँ तोकिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारीहरुले गृह प्रशासन सुधार कार्ययोजनाअन्तर्गत प्रदर्शनस्थल तोकिएको बताए।
ललितपुरका प्रजिका अनुसार ललितपुरका च्यासल खेलमैदान, गोदावरी बसपार्क नजिकैको खाली जग्गा, भैँसेपाटी छयासीकोट, बज्रबाराही मन्दिर अगाडि, लुभुको ससमुचौर लामाटार र धोबिघाट नजिकैको खुल्ला ठाउँलाई प्रदर्शन स्थल तथा खुल्ला कार्यक्रमका लागि तोकिएको छ।
यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारीले भक्तपुरमा १ ठाउँलाई मात्र प्रदर्शन स्थल तोकिएको बताए। भक्तपुरमा सल्लाघारीमा रहेको नेपाल ट्रस्टको खाली जग्गालाई मात्र प्रदर्शनस्थल तोकिएको छ। जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र तथा प्रदर्शन स्थल आगामी साउन १ बाट कार्यान्वयनमा आउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए ।
उनका अनुसार साउन १ गतेबाट लागू हुनेगरी खुल्लामञ्च, तिनकुने खुल्ला चौर, भगवान पाउस्थित भुईंखेल चौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद अगाडिको खुल्ला स्थान र गौशालाको सिफल चौरलाई प्रदर्शन स्थल तोकिएको छ। अब माइतीघर मण्डलामा भने विरोध प्रदर्शनका कार्यक्रम गर्न पाइने छैन।








