
एजेन्सी । रसियामा जारी विश्वकपको रिपोर्टिङ गरिरहेकी एक महिला पत्रकारलाई खुलेआम किस गरेका फुटबलप्रेमी रुसी नागरिकले माफी मागेका छन् । आरोपी फुटबलप्रेमीका अनुसार उनलाई एक साथीले कुनै पत्रकारलाई चुम्बन गर्न शर्त लगाएका थिए । र, शर्तअनुरुप उनले स्पेनिस महिला पत्रकार जूलियेथ गोंजाजेज थेरानको गालामा चुम्बन गरे ।
रुस्लान नाम गरेका उक्त युवकले महिला पत्रकारसँग भिडियो कल गर्दै माफी मागेका छन् । माफी माग्दै उनले जर्मन ब्रोडकास्टिङ कम्पनी डायचे वेलेका स्पेनिस टेलिभिजन च्यानलका खेल पत्रकार जूलियेथ गोंजालेज थेरानसँग भने, ‘म तपाईसँग माफी माग्न चाहन्छु ।’
उनले भनेका छन्, ‘मैले लापरवाही ढंगले काम गरेँ र मैले यो सोचिनँ कि यसले तपाईलाई कति दुखी बनाउनेछ ।’ थेरानले पछि यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा पनि सेयर गरिन् । थेरानले क्यामेराअघि लाइभ रिपोर्टिङ गरिरहँदा उनीमाथि यस्तो घटना घटेको थियो ।








